तुलसीपुर, १६ मंसिर । अटो व्यवस्थापनका लागी एक्सनमा उत्रिएको दाङको तुलसीपुर उप–महानगरपालिका अझै अलमलमा परेको छ । यसले गर्दा नगरपालिका अटो व्यवस्थापनमा असफल देखिएको छ । तुलसीपुरमा चल्ने अटो ट्याम्पुहरु अव्यवस्थित हुदै गएको भन्दै नगरपालिकाले व्यवस्थित गर्ने दाबीसहित विभिन्न निर्णयहरु सार्वजनिक गरी एक्सनमा उत्रिएको थियो । तर, अहिले आएर विस्तारै नगरपालिका सेलाउदै जान थालेको अटो व्यवसायीहरुले बताएका छन् । अटो व्यवसायीलाई निश्चित भाडादर उपलब्ध गराउने, रुट प्रमिट दिने र नगरपालिकामा सुचिकृत गरी व्यवस्थित ढंगले अटोलाई चल्न दिने भन्दै एक्सनमा उत्रिएको तुलसीपुर उपमहानगरपालिका अहिले आफैले गरेका दाबीबाट ब्याक भएको उनीहरुले बताएका छन् । स्थानिय सरकारले चाहेपछी सहजै रुपमा अटो व्यवस्थापन गर्न सक्ने भएपनि तुलसीपुर उपमहानरपालिकाले अटो व्यवस्थित गर्न नसकेको अटो व्यवसायी दिनाराम नेपालीले बताउनुभयो । अटोलाई एकिकृत ढंगबाट सञ्चालन गर्ने सवालमा नगरपालिकाले कुरा मात्रै गरेको तर काम गर्न नसकेको उहाँको भनाई छ ।
नगरपालिकाले अटो व्यवस्थापनका नाममा दुख दियो : प्राली
यता अटो व्यवसायी समितिहरुले पनी तुलसीपुर उपमहानगरपालिकाले अटो व्यवस्थापनका नाममा व्यवसायीलाई दुख दिने काम मात्रै गरेको बताएका छन् । नगरपालिकाले केही महिना अगाडी मात्रै अटोलाई व्यवस्थि गर्ने भन्दै बल जवरजस्ती बसपार्क भित्र लगेर कोचेको थियो । त्यती मात्रै नभएर अटोलाई सुचिकृत (दर्ता) गर्ने भनेर केही अटो दर्ता गरेको लामो समय भएपनि अहिले नगरपालिका चुप लागेको सार्वजनिक मालिका कालिका यातायात प्रालिका अध्यक्ष दिलिप बिकले बताउनुभयो । सबै अटो दर्ता प्रकृयामा ल्याउने भनेपछी आफ्नो प्रालिको तर्फबाट पनि ५/७ वटा अटो दर्ता गरेको उहाँले बताउनुभयो । दर्ता गर्दा खेरी एउटा अटोबाट १५ सय रुपैयाँका दरले पैसा बुझाएको भन्दै अहिले नगरपालिका पछाडी सर्दा उक्त पैसा खेर गएको उहाँको भनाई छ ।
नगरपालिकाले लिएको दर्ता सुल्क (१५ सय) धेरै महंगो भएकाले यसलाई कम बनाउनुपर्ने अध्यक्ष बिकको भनाई छ । अटो दर्ता गरी अभिलेख राखेर एकिकृत ढंगले सञ्चालन गर्नु राम्रो पक्ष भएपनि नगरपालिकाले त्यसअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म नगरपालिकाले भाडादर दिनु बाहेक अरु केहीपनि गर्न नसकेको उहाँले बताउनुभयो । यसैगरी नगरपालिकाले अटो दर्ता गर्ने प्रकृया अगाडी बढाएपछी रोज यातायात प्रालिका पनि झण्डै ३०/३५ अटो दर्ता गरेको प्रालिका अध्यक्ष लाल बहादुर बुढाथोकीले बताउनुभयो । नगरपालिकाले दर्ता गर्ने भए सबै अटो दर्ता प्रकृयामा ल्याउनुपर्ने नत्र आफुहरुले दर्ता गर्दा दिएको रकम फिर्ता पाउनुपर्ने उहाँको माग छ । अटो व्यवसायीलाई अनावश्यक दुख दिने काम नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ । नगरपालिकाले अटो व्यवस्थापन गर्न नसक्ने भए खुल्ला छोर्दिनुपर्ने उहाँको भनाई छ ।
अटो व्यवस्थापन गर्ने निर्णयबाट पछाडी हट्दैनौं : नगरपालिका
यता तुलसीपुर उपमहानगरपालिकाले भने अटो व्यवस्थापन गर्ने सवालमा नगरपालिका पछाडी नहटेको बताएको छ । अटो व्यवस्थापनको जिम्मा पाएको उपभोक्ताहित संरक्षण शाखा प्रमुख रेखा शर्माले प्रकृया पुरा गर्दा ढिला हुन गएको तर पछाडी भने नहटेको बताउनुभएको हो । बसपार्क भित्र पार्किङ गर्ने विषयमा अटो व्यवसायीहरुले नै असहयोग गरिरहदा समस्या भएको उहाँले बताउनुभयो । अहिले अटोको लागी रुट प्रमिट यातायात व्यवस्था कार्यालयले दिदै आएकोमा अब नगरपालिकाबाटै उपलब्ध गराउने गरी काम भइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म विभिन्न प्रालिका ५०/६० वटा अटो मात्रै दर्ता गरेको भन्दै उहाँले अन्य सबै अटोलाई दर्ता प्रकृयामा ल्याएरै छाड्ने दाबी गर्नुभयो । दर्ता सुल्क १५ सय लिदै आएकोमा अब त्यही १५ सयमा रुट प्रमिट पनी उपलब्ध गराउनेगरी नगरपालिकाले काम गरिहेको उहाँले बताउनुभयो । अन्य सबै प्रकृया पुरा भएर कार्यपालिकामा गएको बताउदै उहाँले अब बस्ने कार्यपालिका बैठकले यसबारे निर्णय गरेपछी थप प्रकृया अगाडी बढ्ने बताउनुभएको छ ।।