दाङ,७ मंसिर । बालवालिकामा सिर्जनशीलताका विकास गर्दै बालसाहित्यको प्रवर्द्धन गर्न २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन दाङकाे घोराहीमा सुरु भएको छ । नेपाल बाल साहित्य समाजको आयोजना तथा राप्ती साहित्य परिषदको संयोजनमा शुक्रवारदेखि सुरु भएको सम्मेलन शनिवार सकिनेछ । सम्मेलनमा देश र विदेशका बालसाहित्यका व्यक्तित्वको सहभागिता छ ।
सम्मेलनको शुक्रवार नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक भिमप्रसाद खतिवडाले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्दै उहाँले बालसाहित्य सम्मेलनले सिर्जना र सँस्कार पुस्तान्तरणमा टेवा पुगेको बताउनुभयो । विशिष्ट अतिथी डा चुडामणी बन्धुले बालवालिकालाई यो सम्मेलनले लेख्न, पढ्न र सिक्नमा मद्दत गर्ने बताउनुभयो । विशिष्ट अतिथी बरिष्ट साहित्यकार तथा पत्रकार अध्यक्ष नारायण प्रसाद शर्माले बालवालिकामा देश प्रेम र सिर्जनालाई कायम राख्न अभियान नै चलाउनुपर्ने बताउनुभयो । त्यो अभियान अभिभावकहरुले चलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषदका अध्यक्ष डा टीकाराम उदासी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति केके कर्माचार्य, प्राध्यापक हंसवती कुर्मी, बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष भानसिह बुढामगर, गोरखा उमाविका प्रधानाध्यापक मानसिंह घर्तीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । दुई दिन चल्ने सम्मेलनमा विद्यार्थीहरुलाई कथा, कविता तथा हस्तलेखनसीप सिकाइनेछ भने बालसाहित्य, पठन संस्कृतिका बारेमा प्यानल डिस्कसन हुने आयोजकले जनाएको छ ।