दंगीशरणको फुर्केसल्ली स्वास्थ्य इकाईको सेवाप्रति स्थानियको गुनासो

तुलसीपुर, १६ कात्तिक ।  दाङको दंगीशरण गाउँपालिका–१ को फुर्केसल्लीमा रहेको सामुदायीक स्वास्थ्य इकाईको सेवा प्रवाहप्रति स्थानियले गुनासो गरेका छन् । स्वास्थ्य इकाइमा नियमित रुपमा स्वास्थ्यकर्मीहरु नभेटिने गरेको भन्दै उनीहरुको गुनासो गरेका हुन् । यती मात्रै नभएर कार्यालय सहयोगीले औषधी दिने गरेको स्थानिय ठाकुर जिसीले बताउनुभयो । ‘धेरै समय खर्च गरेर स्वास्थ्य इकाईमा पुग्नुपर्छ, उहाँले भन्नुभयो– तर, त्यहा गएको बेला कोहीपनि भेटिदैनन् । लामो समयसम्म कुर्नुपर्छ । त्यसैमा पनि कार्यालय सहयोगीले औषधी दिएर पठाउछन् । कार्यालय सहयोगीमार्फत लिएको औषधीको विश्वास लाग्दैन ।’ कार्यालय सहयोगीले दिएको औषधीले उल्टै असर गर्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । यसरी एउटा स्वास्थ्य समस्याको अर्को औषधी पर्नसक्ने सम्भावना रहेको भन्दै सम्बन्धित व्यक्तीबाट मात्रै औषधी वितरण गर्नुपर्ने उहाँको भनाई छ । यस्तै कालितराका स्थानिय डिल बहादुर कक्रेलले पनि फुर्केसल्लीमा स्वास्थ्य इकाई स्थापना हुदा खुसी भएपनि अहिले निराश बन्नुपर्ने अवस्था आएको बताउनुभयो । अपेक्षा अनुसार सुविधा प्राप्त गर्न नसकिएको भन्दै उहाँले अधिकांस समय स्वास्थ्य इकाई बन्द हुने गरेको गुनासो गर्नुभयो ।

खुलेपनि कार्यालय सहयोगी मात्रै भेटिने गरेको उहाँको भनाई छ । ‘कार्यालय सहयोगी पनि बाहिरको राखियो, उहाँले भन्नुभयो– यही फुर्केसल्लीमा स्थायी बसोबास गर्ने मान्छेलाई कार्यालय सहयोगी राख्नुपर्ने थियो, यहीको भए अन्य समयमा पनि आवश्यकता परेको अवस्थामा बोलाएर सामान्य मलम पट्टीसम्म पाउन सकिन्थ्यो होला, तर अन्यत्र बस्नेलाई कार्यालय सहयोगी बनाउदा झनै धेरै समस्या भयो ।’ लामो समयसम्म स्वास्थ्य इकाई बन्द हुने भएकाले साचेअनुसार सेवा पाउन कठिन भएको उहाँको भनाई छ । यसले गर्दा फुर्केसल्लीमा स्वास्थ्य इकाई हुनुको खासै अर्थ नभएको उहाँले बताउनुभयो । फुर्केसल्लीको बिचभागमा पर्ने ठाँटी गाँउमा झण्डै १६ लाख लागतमा सामुदायीक स्वास्थ्य इकाईको भवन निर्माण गरी गत बर्षको फागुन महिनाबाट स्वास्थ्य सेवा सुरु भएको थियो । एकजना अनमी र एकजना कार्यालय सहयोगीमार्फत अहिले सेवा प्रवाह भइरहेको छ । यता सामुदायीक स्वास्थ्य इकाई फुर्केसल्लीकी प्रमुख रेनुका चौधरीसँग यसबारे बुझ्न खोज्दा यो विषयमा बोल्न चाहनु भएन । उहाँले यस बारेमा बोल्नका लागी आफुसँग फुर्सद नभएको प्रतिकृया दिनुभयो । यता दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले भने विभिन्न कामको लागी अन्यत्र जानुपर्दा स्वास्थ्य इकाईमा इकाई प्रमुख नभेटिएको हुनसक्ने बताउनुभयो । एकजना मात्रै भएकाले पनि केही समस्या भएको तर त्यसो हुदैमा कार्यालय सहयोगीले भने औषधी दिन नमिल्ने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया