
दाङ, १० कात्तिक । तुलसीपुर उपमहानगरपालिका पूर्व नगर प्रमुख घनश्याम पाण्डेले अर्गानिक खेतीमा जोड दिनुपर्ने बताउनुभएको छ । सूर्य ज्योति कृषि सहकारी संस्थाको १२ औं साधारण सभालाई तुलसीपुर– ८ अश्वारामा सम्बोधन गर्दै उहाँले बढ्दो रासायनिक खेती र विषादीलाई न्यूनिकरण गर्दै प्राङ्गारिक मल मार्फत अर्गानिक उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
धेरै उत्पादनका लागि प्रयोग गरिएको रासायनिक मल र विषादीका कारण व्यवसायीका कृषि खेतीमा लागेका किसानहरूमा विभिन्न दिर्घ रोगको समस्या देखिएको बताउँदै त्यसबाट बच्न न्यूनिकरण गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो । साधारण सभामा तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वली, राष्ट्रिय सहकारी बैँक तुलसीपुरका शाखा प्रबन्धक पुष्पा क्षेत्री, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरी भण्डारी लगायतले शेयर सदस्य र पुँजीको वृद्धिसँगै रचनात्मक कार्यक्रम तर्फ पनि जोड दिन आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष धनीराम रोकाको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा सचिव महेन्द्र भण्डारीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष मोतिराम घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा तरकारी तथा फलफूल तर्फ सफल किसान हरि प्रकाश खत्री, र डिला भण्डारीलाई सम्मान गरिएको थियो ।