
तुलसीपुर,७ कात्तिक । दाङको तुलसीपुरमा ३ दिने गड्यौला खेती, फोहर व्यवस्थापन तथा प्राङ्गारिक मल उत्पादन सम्बन्धी तालिम सुरु भएको छ । रासायनिक मलको प्रयोगलाई कम गर्दै जैविक मल र जैविक विषादी उत्पादनमा जोड दिने उद्देश्यले तालिम संचालन गरिएको आयोजक संस्था ग्रिन फाउण्डेसन नेपाल दाङले जनाएको छ । तुलसीपुरको राप्ती शान्ति उद्यानमा आज देखि सुरु भएको तालिमको उद्घाटन गर्दै ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले तुलसीपुरलाई जैविक सिटीका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
रासायनिक मल र विषादी प्रयोगले मानव स्वास्थ्यमा ठूलो असर पारेको बताउँदै अध्यक्ष पाण्डेले अर्गानिक अन्नबाली र तरकारी उत्पादनका लागि घर घरमा गड्यौला खेती गर्नुको विकल्प नभएको बताउनुभयो । हाम्रो प्रकृति, संस्कृति र समृद्धिमा जोड दिनुपर्ने बताउँदै अध्यक्ष पाण्डेले कोक, फ्यान्टा, चाउ चाउको सट्टामा दुध, दही, मोही, आटो, रोटी, मकैको खाजा जस्ता परम्परागत खानालाई प्राथमिकता दिदा त्यसले आयु लम्बाउने मात्रै नभएर बाँच्दासम्म निरोगी हुने बताउनुभयो ।
ग्रीन फाउण्डेसनका अध्यक्ष विष्णु केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका –७ का वडा अध्यक्ष रामबहादुर जिसी, राप्ती शान्ति उद्यान पार्कका अध्यक्ष डिल्लीराज भण्डारी, प्रशिक्षक गोकुल कँवर , हरियाली मञ्चका अध्यक्ष सुरेश रावत , ग्रीन फाउण्डेसनका सचिव जित बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा विभिन्न वडाका २५ जनाको सहभागिता रहेको छ ।