जलवायु परिवर्तनको असरले नेपालमा सुरक्षा चुनौती थपियो

काठमाण्डौं, १५ असोज ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जलवायु परिवर्तनको असरले नेपालमा सामाजिक सुरक्षामै चुनौती थपिएको जनाएको छ । जलवायु परिवर्तनले बारम्बार देखिएका प्राकृतिक विपत्तिका कारण नेपालीहरूले सामाजिक सुरक्षाका विभिन्न सेवा सुविधासमेत गुमाउन सक्ने आईएलओको भनाइ छ । आज जारी भएको प्रतिवेदनमा आईएलओले नेपालले जलवायु परिवर्तनलाई सम्बोधन हुने गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा पनि जोड दिएको छ ।

सामाजिक सुरक्षाको प्रत्याभूति गर्न नेपाल दक्षिण एशियाका अरू देशको तुलनामा निकै सुस्त गतिले अगाडि बढेको र यस्तो अवस्थामा जलवायु परिवर्तनका कारण देखिने विभिन्न घटनाले झनै असर पर्ने प्रतिवेदनमा उल्लेख छ । पर्याप्त सुविधा र पूर्ण सुरक्षालाई समेटेर नेपालले तुरुन्तै विश्वव्यापी सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आईएलओका नेपाल प्रमुख नुमान ओजकनले बताउनुभएको छ । प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावबाट एशिया–प्रशान्त क्षेत्रका नेपालसहित १६ वटा देश सबैभन्दा बढी जोखिममा रहेको जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया