दाङ,२० साउन । नारायणगढ–बुटवल सडक खण्डको वर्षाले रोकिएको निर्माण आउँदो कात्तिक १५ गतेपछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन शुरू भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ गतेपछि काम शुरू गर्ने गरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो । सडक निर्माणका लागि यही साउन १० गते पुनः एक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत रहेकोमा अहिले ५२ प्रतिशत रहेको इन्जिनियर खनालले जानकारी दिनुभयो । २०७९ सालको साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो ।