लम्बर स्पन्डाइलोसिस अत्यन्तै गम्भीर स्वास्थ्य समस्या हो : डा. सन्देश लम्साल

हिमालहरूको बिचमा अवस्थित भूपरिवेष्ठित देश नेपाल आफ्नो मनमोहक परिदृश्य र विविध संस्कृतिका लागि परिचित छ । रहस्यमय पहाडहरू र पहाड मुनि रहेको सबैभन्दा सामान्य तर अत्यधिक उपेक्षित स्वास्थ्य समस्या, लम्बर स्पन्डाइलोसिस रहेको छ । लम्बर स्पन्डाइलोसिस, यसको गम्भीरता, उपचार, चुनौती लगायतका विषयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका डा. सन्देश लम्सालसँग गरिएको छोटो कुराकानी..
–यहाँलाई स्वागत छ ।
धन्यवाद !
– लम्बर स्पन्डाइलोसिस भनेको के हो ?
लम्बर स्पन्डाइलोसिस भनेको तल्लो ढाडको इन्टर भेर्टेब्रल डिस्कहरूमा बढ्दो उमेर संगसंगै डिजेनेरेटिभ अथवा ओस्टियो अर्थराइटिक परिवर्तनहरूका कारणले हुने तल्लो ढाडको दुखाइ हो । यसको दुखाइ सामान्यतया बिहान तीव्र हुन्छ र बढ्दो समय संगै कम हुन्छ । हाम्रो निष्क्रिय जीवनशैली, मेरुदण्डको स्वास्थ्यको बारेमा ज्ञान र चेतनाको कमी, लामो समयसम्म एकै ठाउॅमा बस्ने बानी, खराब आसन, कडा शारीरिक परिश्रम तथा कमजोर आर्थिक अवस्थाका कारणले यो रोगको प्रकोप बढिरहेको छ । बढ्दो उमेरसंगै इन्टर भर्टिब्रल डिस्कहरू कडा हॅुदै जान्छन् जसले गर्दा तिनीहरू भॅाचिने सम्भावना बढ्दै जान्छ । यी कमजोर हड्डीहरूमा बोन स्पर्स बढ्न थाल्छन् जसले स्नायुका जराहरू वा मेरुदण्डको कर्डमा दबाब सिर्जना गर्छन् । यसको कारणले नितम्ब तथा खुट्टाहरूमा शुटिंग पेन, रेडिकुलोप्याथी, कमजोरी, सुन्नता वा झनझनाहट महसुस हुन्छ ।

– यो आफैमा कत्तिको गम्भीर समस्या हो ?  साधारणतया कति प्रतिशत मानिसहरू लम्बर स्पन्डाइलोसिसबाट पीडित छन् ?
विश्वव्यापी रूपमा लगभग ६०.८५ प्रतिशत वयस्कहरू लम्बर स्पन्डाइलोसिसबाट पीडित छन् । नेपालमा तल्लो ढाड दुख्ने समस्या ५२ देखि ९१ प्रतिशत मानिसमा रहेको पाइएको छ । जबकि भारतमा, जनसंख्या समूह र अनुसन्धानको विषयको आधारमा, यो ६.२ प्रतिशत देखि ९२ प्रतिशत सम्म छ । राप्ती प्रादेशिक अस्पतालको अर्थोपेडिक्स विभागमा गरिएको सर्वेक्षण अनुसार कुल विरामीमध्ये ६० देखि ७० प्रतिशत बिरामीले तल्लो ढाड दुख्ने गुनासो गरेको पाइएको छ । जसमध्ये ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष रहेका थिए । जबकि, ४५÷६५ वर्ष उमेरको समुहको यो अवस्थाको मुख्य लक्षित वर्ग थियो । जसका मुख्य कारणहरू घरायसी कामकाज, खेतीपाती, बढ्दो उमेर, खराब आसन, भारी वजन उठाउनु पर्ने काम आदि थियो । यस सर्वेक्षणको परिणामले लम्बर स्पन्डाइलोसिसको गम्भीरता र यसले जनस्वास्थ्यमा पार्ने असरलाई उजागर गर्दछ ।
– लम्बर स्पन्डाइलोसिसको निदानका लागि कुन–कुन विधिहरूको प्रयोग गरिन्छ ? ढाडको तल्लो भागको दुखाइ लम्बर स्पन्डाइलोसिसको कारणले मात्र हुन्छ या अन्य स्वास्थ्य समस्याहरूमा पनि देखिन्छ ?
यसको निदानका लागि दुखाइको विशेषताहरु तथा क्लिनिकल हिस्ट्रिको अध्ययन, विभिन्न शारीरिक परीक्षण विधिहरू र एक्स–रे, एमआरआई, माइलोग्राम र लम्बोसेक्रल स्पाइनको सीटी स्क्यान जस्ता इमेजिङ परीक्षणहरू गर्न सकिन्छ । मृगौलाको पत्थरीको कारणले पनि ढाड दुख्ने समस्या हुन सक्छ । जसलाई पेटको भिडियो एक्स–रे को मद्धतले लम्बर स्पन्डाइलोसिसको दुखाइबाट छुट्याउन सकिन्छ । जबकि, सीरम यूरिक एसिड स्तर तथा रुमेटोइड आर्थ्राइटिस (आरए) फ्याक्टरको परीक्षणले हामीलाई स्पाइनल गाउटबाट लम्बर स्पन्डाइलोसिसको दुखाइ छुट्याउन मद्दत गर्दछ ।
– लम्बर स्पन्डाइलोसिसको उपचारमा के कस्ता विधिहरु अपनाइन्छ ? साथै यसको उपचार गर्दा कस्ता चुनौतीहरूको सामना गर्नु पर्छ ?
लम्बर स्पन्डाइलोसिसको लागि फिजिकल थेरापी, फार्माकोथेरापी, सर्जरी, आदि जस्ता उपचार विधिहरू अपनाइन्छन् । विशेषगरी नेपालको ग्रामीण क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीको अभाव तथा न्यून आर्थिक अवस्थाका कारण यस्ता विशेषज्ञ स्वास्थ्य सेवाहरूमा आम जनताको पहुँच चुनौतीपूर्ण बनेको छ । शारीरिक थेरापीःयसमा ट्रान्स इलेक्ट्रिकल नर्भ स्टिमुलेशन, लम्बर सपोर्ट र ट्र्याक्सन, स्पाइन म्यानिपुलेशन, र आइस कम्प्रेसन वा हट फोमेन्टेशनहरूको साथमा मसाज समावेश छ । फार्माकोथेरापीः यसमा विभिन्न औषधिहरू तथा इंजेक्शन थेरापि समावेश छन् जसमा दुखाइ व्यवस्थापन गर्न मद्दत गर्ने औषधिहरू NSAIDs Opioids, मांसपेशी आराम गर्न मद्दत गर्ने औषधिहरू, Anti-depressants, Epidural Steroid Injection, Facet Injection, Sacroiliac Joint Injection जस्ता इंजेक्शनहरू समावेश छन् । डिस्कोजेनिक दुखाइको लागि इन्ट्राडिस्कल नन् अपरेटिभ थेरापीहरू जस्तै इन्ट्राडिस्कल इलेक्ट्रोथर्मल थेरापी, र रेडियोफ्रिक्वेन्सी पोस्टरियर एन्युलोप्लास्टी समावेश छन् जसमा इन्टरभर्टिब्रल डिस्कमा इलेक्ट्रोड राखिन्छ । सर्जिकल इन्टरभेन्शन विधिमा स्पाइनल फ्युजन, फोरामिनोटोमी, ल्यामिनेक्टोमी, डिस्केक्टोमी, डिस्क रिप्लेसमेन्ट तथा इन्टरलामिनर इम्प्लान्टहरू समावेश छन् ।

– अन्तमा तल्लो ढाड दुखाइबाट बच्न नागरिकलाई के सुझाव दिन चाहनुहुन्छ ?
बढ्दो उमेर र समयसंगै मेरुदण्डमा आउने डिजेनेरेटिभ तथा ओस्टियोआर्थराइटिक परिवर्तनहरूलाई रोक्न खासै केही गर्न सकिदैन, तर म हजुरको संचार माध्यममार्फत जनतालाई आफ्नो शरीरको आसनको ख्याल राख्न सुझाव दिन चाहन्छु । आफ्नो पीठमा गर्हौ भारी बोक्न वा निरन्तर झुक्नु पर्ने कामहरू नगर्न अनुरोध छ । अफिसमा काम गर्दा अथवा लामो समयसम्म कम्प्युटर टि.भीको अगाडि बस्दा लम्बर बेल्ट प्रयोगले ढाडलाई आराम प्रदान गर्दछ । रोग लागीसकेपछी उपचार गर्नुभन्दा बेलैमा रोकथाम गर्नु उचित हुन्छ । त्यसैले आफ्नो दैनिक जीवन निर्वाह गर्दा समय समयमा मेरूदण्डलाई आराम प्रदान गर्न बिर्सिनु हॅुदैन ।।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया