
काठमाडौँ, ६ माघ । अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ । जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर उपयोग गर्ने नीति अवलम्बन गरेको र सोही अनुसार कार्य अघि बढाइएको बताउनुभएको छ । प्रहरीद्वारा सफल अनुसन्धान भई अदालतमा थुनछेक बहसका क्रममा रहेको मुलुकभर तथा नेपाली डायस्पोरासमेतमा बहु–चर्चित मुद्दामा पनि उच्चतम प्रविधिको प्रयोग भएको मैनालीले बताउनुभयो ।
अपराध अनुसन्धानमा आधुनिक प्रविधिको भूमिका दिनानुदिन बढ्दै गएकाले पनि प्रहरीले उक्त अभ्यासलाई अधिकतम प्रयोग गरिरहेको उहाँको भनाइ छ ।अनुसन्धान कार्यमा सङ्कलित दशी प्रमाणको परीक्षणका लागि हाल सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला रहेको छ । उक्त प्रयोगशालामा रहेका विभिन्न ११ वटा शाखाबाट रसायन तथा लागुऔषध, विस्फोटक पदार्थ, विष विज्ञान, डिएनए, जीवसिरम विज्ञान, ब्यालेस्टिक, विवादास्पद प्रलेख, भौतिक फुट प्रिन्ट, सवारी साधनको इन्जिन–चेसिस, फोटोग्राफीको वैैज्ञानिक परीक्षण एवं विश्लेषण गर्दै आएको छ ।