राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा मतपत्र पुग्यो

काठमाण्डौ, ५ माघ ।  निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । राष्ट्रिय सभा चुनावका लागि ३८ प्रकारका ६ हजार ९ सय १० थान मतपत्र छपाई गरी पठाएको आयोगका प्रवक्ता शालिराम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।

प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् । आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ वटा राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ देखि ६ वर्षसम्म रहने छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया