
तुलसीपुर, १२ मंसिर । पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएसँगै कृषिमा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोग बढ्दै गएसँगै किसानहरुले कृषिको काम गर्न सजह भएको छ । थ्रेसर मेसिनबाट धान भित्र्याउन सहज हुने गरेको किसानहरुले बताएका छन् । धान दाउने बेलामा थ्रेसर मेसिनको प्रयोग गर्न थालेपछि सहज भएको तुलसीपुरका किसान उषा खड्काले बताउनुभयो । तर भनेको समयमा थ्रेसरको पालो नपाउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘थ्रेसर मेसिनले धान दाउन सहज भएको छ तर भनेको बेला थ्रेसर मेसिन नआउने हुँदा समस्या हुन्छ ।’ उहाँका अनुसार गतवर्ष र यस वर्ष धान उत्पादन उस्तै छ । यसवर्ष साढे ६ कठ्ठामा ३० मुरि धान उत्पादन भएकोमा गत वर्ष पनि उतिनै धान उत्पादन भएको उहाँँले बताउनुभयो । वर्षामा सधैँ मल बिउ पनि नपाइने तथा महङ्गो हुने गरेको उहाँको गुनासो छ ।यस्तै किसान यज्ञ केसीलाई पनि थ्रेसर मेसिनले सहज बनाएको छ । ‘पहिले मेसिन नआउँदा दुख थियो दिनभरि धान चुट्नु पथ्र्यो तर थ्रेसर मेसिन आएदेखि धान दाउन सहज भएको छ,’–उहाँले भन्नुभयो । उत्पादन भने गत वर्षको जस्तै रहेको छ । यसपालि ९ कठ्ठामा ३५ मुरि धान उत्पादन उहाँले बताउनुभयो । अर्का किसान रामकलि वलीले भने धानको राम्रो बिउ नपाइएकाले यसपालि धान राम्रो नभएकोे बताउनुभयो । ५ कठ्ठामा गत वर्ष २१ मुरि धान फलेकोमा यसवर्ष १४ मुरि मात्रै धान उत्पादन भएको उहाँको भनाइ छ । प्रविधिको प्रयोग बढ्दै गएको र सबैले प्रविधि नै प्रयोग गर्ने भएकाले भनेको बेला खेत जोत्न टेक्टर तथा धान दाउनका लागि थे्रसर नपाइने समस्याले रातिको समयमा खेत जोत्न तथा धान दाउन परेको बताउनुभयो ।
यता कृषि ज्ञान केन्द्रले यसवर्ष धान उत्पादनमा वृद्धि भएको जनाएको छ । यस वर्ष गत वर्षको तुलनामा ९ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङको तथ्यांकले देखाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।।