तुलसीपुर ३१ भदौ । सल्यानमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका आमाछोरीको शव पोष्टमार्टमका लागी नेपालनञ्ज पठाइएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपछी शव पोष्टमार्टमका लागी नेपालनञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिनुभएको छ । ती आमाछोरीको हत्या गरिएको हुनसक्ने आसंकामा घटनाको वास्तविकता पत्ता लगाउन सहज होस भन्ने उदेश्यले सुविधा सम्पन्न अस्पतालमा पोष्टमार्टमका लागी पठाइएको प्रहरीले जनाएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामी ढुङ्गा निवासी सुकबहादुर थापाकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको शव घरमै जलेको अवस्थामा हिजो शनिवार बिहान भेटिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना पत्ता लगाउन नेपालगञ्जबाट तालिम प्राप्त कुकुर समेत ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानियले ग्यास चुहावट भएर मृत्यु भएको बताएपनी घरमा टिनको छानो भएको र ग्यास पनि केहि नभएकाले हत्या नै हो भन्ने निष्कर्षमा पुगेको प्रहरीको भनाइ छ । घटनामा संलग्न रहेको आसंकामा अहिले मृतककी जेठान दिदिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टपछी मात्रै घटनाबारे थप भन्न सकिने प्रहरीको भनाई छ ।