तुलसीपुरमा २० वर्ष नपुग्दै गर्भ जाँच गराउनेको संख्या झण्डै ५ सय

तुलसीपुर, २८ भदौ । दाङको तुलसीपुरमा २० वर्ष मुनिका झण्डै ५ सय जना किशोरीले गर्भ जाँच गरेको एक तथ्याङ्क सार्वजनिक भएको छ । २० वर्ष पुगेपछि मात्रै विहे गर्ने कानुनी व्यवस्था रहेका बेला यस्तो तथ्याङ्क बाहिर आएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले दिएको तथ्याङक अनुसार तीन वर्षको अवधिमा ४ सय ८९ जना किशोरीले अस्पतालमा पुगेर गर्भ जाँच गराएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ मा १ सय ५८ जना, आर्थिक वर्ष २०७८÷२०७९मा १ सय ७५ र आव २०७९/२०८० मा १५३ जनाले गर्भ जाँच गराएको सूचना अधिकारी भुुसन सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी तीन वर्षको अवधिकमा २० वर्ष माथिका ४ हजार ७ सय ५ जनाले गर्भ जाँच गराएका छन् ।
गर्भ जाँच गराउने जम्मा ५ हजार ९ सय ९४ जना मध्य प्रोटोकल अनुसार २ हजार ५ सय ८६ जनाले मात्रै चेकजाँच गराएको सुवेदीले जानकारी दिनुभयो । प्रोटोकल अनुसार आमा र बच्चा दुबैको स्वास्थ्यका लागि ९ महिनाको अवधिमा ८ पटक गर्भ जाँच गराउनुपर्ने हुन्छ । सुरुमा ४ पटक गर्भ चेकजाँच गर्नुपर्ने व्यवस्था भएपनि यस वर्षदेखि बढाएर ८ पटक पु¥याएपछि गर्भ जाँच गराउनेको संख्यामा कमि आएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभयो ।

चुनौति बन्दै बाल विवाह
उमेर नपुगी विवाह गर्न नहुने कानुनी व्यवस्था भएपनि २० वर्ष नपुग्दै गर्भ जाँच गराउने किशोरीको संख्या ५ सयको हाराहारीमा पुगेपछि यसले कानुनी चुनौति थपिएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को विवाह गर्न नहुने महलको १७३ (१)मा विवाह गर्ने व्यक्तीको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने कानुनी व्यवस्था छ ।
यदि २० वर्ष नपुग्दै विवाह गरेमा विवाह स्वत वदर हुनुका साथै कसुर गर्ने व्यक्तीलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना छ । तर पनि विवाह भने धमाधम भइरहेको अस्पतालले दिएको तथ्याङले पुष्टि गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले पनि बाल विवाह रोक्न विहेवारी बिस वर्ष पारी भन्ने नारा सहित स्मार्ट छोरी कार्यक्रम लागु गरेको छ । तथ्याङक हेर्दा कार्यक्रम त्यति प्रभावकारी भएको देखिदैन । स्मार्ट छोरी कार्यक्रम अन्तर्गत उपमहानगरले छोरी जन्मिने देखि २० वर्ष नपुग्दा सम्म छोरीको खातामा पैसा जम्मा गर्दिन्छ । यदी २० वर्ष नपुग्दै छोरीले विहे गरेमा भने १९ वर्षसम्म जम्मा गरेको पैसा समेत उपमहानगरले आफ्नो खातामा खिच्छ । तर २० वर्ष पुगेपछि भने पुरौ पैसा भुक्तानि हुन्छ । किशोरीको तथ्याङले स्थानीय सरकारले चलाएको विहेवारी विस वर्ष पारी भन्ने नारा सहितको कार्यक्रम कता जाँदै छ भन्ने संकेत यसले गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया