तुलसीपुर, २३ भदौ । दाङको तुलसीपुरमा बि पोजेटिभ रगतको जहिले अभाव हुने गरेको पाइएको छ । बि पोजेटिभ रगत अन्य समुहको रगत बराबर नै संकलन हुने गरेपनी बि पोजेटिभ बढि आवश्यक पर्ने भएकाले छिट्टै सकिदा अभाव हुने गरेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरका इन्चार्ज नरेश चौधरीले जानकारी दिनुभएको छ । उहाका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डाइलाइसिस गराइरहेका विरामीहरु मध्य बि पोजेटिभ ब्लड ग्रुप भएका विरामीको संख्या धेरै भएको र अन्य विरामीहरुलाई पनी बि पोजेटिभ रगत नै धेरै आवश्यक पर्ने भएकाले सो रगत अभाव हुने गरेको हो । यही भदौ १६ गते तुलसीपुरमा एकैदिन ५० जना भन्दा धेरैले रक्तदान गरेकाले अहिले केही सहज भएपनी बि पोजेटिभ रगत भने अहिले कार्यालयमा नभएकाले विरामीलाई दिन सक्ने अवस्था नरहेको उहाले बताउनुभयो । रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरमा अहिले अन्य सबै समुहको रगत १५ पोका भन्दा बढि नै रहेको तर, बि पोजेठिभ रगत भने आपतकालिन अवस्थाको लागी भनेर २/४ पोका मात्रै स्टकमा राखिएकाले सामान्य अवस्थामा दिन नसकिने इन्चार्ज चौधरीले बताउनुभयो ।
आफुसँग नभएको ब्लड आवश्यक परेका कतिपय विरामीहरुलाई कार्यालयले अन्य रक्तदाता सँग समन्वय गराइदिने काम गरिरहेको जनाएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागी आएका जुनसुकै विरामीहरुलाई जती रगत आवश्यक परेपनी निशुल्क रुपमा उपलब्ध गराउदै आएको र अन्य निजी अस्पताललाई भने प्रती पोका एक हजारका दरले दिदै आएको केन्द्रले जनाएको छ । नेगेटिभ समुहको रगत भने स्टकमा राख्न नमिल्ने हुदा त्यस्तो रगत अहिले रक्त सञ्चार केन्द्रमा नरहेको र आवश्यक पनी कमै मात्रामा पर्ने गरेको पाइएको छ । कुनैपनी नेगेटिभ समुहको रगत आवश्यक परेमा भने भेटाउन निकै कठिन हुने गरेको केन्द्रले जनाएको छ । रगत अभावकै कारण तुलसीपुरमा कोहीपनी बिरामीले ज्यान गुमाउने अवस्था भने नआएको जनाइएको छ ।