
तुलसीपुर ४ बैशाख । स्थानिय तहको निर्वाचन मिति आउन अब २५ दिन मात्रै बाँकी छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकिए संगै दिनप्रतिदिन चुनावी सरगर्मि बढेको छ । राजनितिक दलहरुले उमेदवार छनोट प्रक्रियालाई तिव्रता दिएका छन् भने उमेदवारी स्वघोषणा गर्ने क्रम पनि उत्तिकै बढेको छ । तर सत्तागठनबन्धनले स्थानिय तहमा चुनावी तालमेल गर्ने भनेता पनि दाङमा भने अझै अन्यौलता देखीएको छ ।नाम गठबन्धन भएपनि चुनावी प्रचार भने दलहरुले एक्लाएक्लै गर्दै आएका छन् ।
गठबन्धन दलका नेताहरुले भागबन्डा समयमै मिलाउन नसक्दा अहिले सम्म जिल्लामा साझा उमेदवारहरुको नाम सिफारिस गर्न सकेका छैनन । बरु उनीहरुले वडा देखी पालिका सम्म आ. आफनो सहित उमेदवारहरुको नाम सिफारिस गर्न व्यस्त देखीएका छन् । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले चुनावी तालमेल गर्ने बारे जिल्लामा गठबन्धन दलहरुका बिच छलफल भईरहेको बताउनुभयो । अब छिटै नै सहमती गरी निष्कर्षमा पुग्ने उहाले दावी गर्नुभयो ।तर उहाले विधान अनुसार आफनो पाटीले प्रत्येक वडा र पालिकामा सम्भावित उमेदवारहरुको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो ।
गठबन्धनका बिचमा छलफल जारी छ उहाले भन्नुभयो,तर हाम्रो पाटीको विधान अनुसार हामीले उमेदवार छनोट प्रक्रिया अघि बढाई सकेका छौ ।चुनावी तालमेल बारे जिल्लामा बैशाख ३ गते भित्र टुङगो लगाउने बारे केन्द्रले सर्कुलर जारी गरे पनि दलहरुका बिच सहमती भई नसक्दा ढिलाई भईरहेको उहाले बताउनुभयो । गठबन्धनका बिच कुरा टुङिगएपछि मात्रै साझा उमेदवारको घोषणा गरिने उहाले बताउनुभयो । तर उहाले जिल्लाका सवै वडा र पालिकामा चुनावी तालेमल हुने बारे आशंका व्यक्त गर्नुभयो ।
यस्तै सत्तागठबन्धन दल नेकपा एकिकृत समाजवादी पाटीले पनि जिल्लामा चुनावी तालमेलका लागी दैनिकजसो छलफल भईरहेको बताएको छ । स्थानिय तहमा चुनावी तालमेल गर्न आफुहरु सहमत भएको र सोहि अनुसार छलफल भईरहेको जिल्ला कमिटिका अध्यक्ष सुरामणि बेलबासेले जानकारी दिनुभयो ।यो समाचार तयार पार्दा सम्म उहाले सकेसम्म आईतवार बेलुका सम्म दलहरुका बिच सहमती जुट्ने दावी गर्नुभयो । तर उहाले पनि आफनो पाटीले यस अघि नै वडा देखी स्थानिय पालिका तह सम्म सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेर तयारी अवस्थामा बसेको बताउनुभयो ।
गठबन्धनका बिचमा सहमती भए सोहि अनुसार अघि बढ्ने ,यदी सम्भव नभए एक्लै चुनावमा होमिने गरी तयारी भईरहेको उहाले बताउनुभयो । प्रमुख प्रतिपक्ष दल एमालेले वडा देखी स्थानिय पालिकाको उमेदवार टुङगो लगाउने अन्तिम तयारी भईरहेको अवस्थामा सत्तागठबन्धन भने अझै छलफलमै व्यस्त देखीएका छन् ।सत्तागठबन्धन दलका नेताहरुले केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय गरेको जस्तो सहज जिल्लामा नभएको नेताहरुले बताएका छन् । जिल्लामा सत्तागठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी , जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल गर्ने बारे छलफल भईरहेको छ । तर नेताहरु निष्कर्षमा पुग्न सकेका छैनन । केन्द्रमा दलका शिर्ष नेताहरुले चुनावी तालमेल गर्ने निर्णय गरे पनि हाल तल्लो तहका नेता कार्यकर्ताहरुमा उत्साह देखीएको छैन ।
नेकपा एमाले एक्लै चुनाव लडर्दै
प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानिय चुनावलाई लक्षित गर्दै गतिबिधिलाई तिव्र पारेको छ । सोहि अनुरुप जिल्लाका टोल देखी वडा हुदै पालिका सम्म संगठन विस्तार देखी उमेदवार छनोट प्रक्रिया तिव्र गतिमा अघि बढेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो । प्रत्येक टोल बस्तीमा एमालेको संगठन विस्तार गरिएको उहाले बताउनुभयो । यस्तैगरी वडा र पालिकामा कमिटि विस्तार देखी भातृ संघ संगठनलाई पनि क्रियाशिल बनाएको उहाले बताउनुभयो । अहिले जिल्लाभर चुनावी गतिविधिहरु भईरहेको उहाले बताउनुभयो ।
नेकपा एमालेले अहिले सम्म राप्रपा नेपाल र परिवार दल संग चुनावी तालमेल गर्ने सहमती गरेपनि दाङमा भने सत्तागठबन्धन संग एक्लै चुनाव लड्ने तयारी गरेको उहाले बताउनुभयो । जिल्लामा अहिले सम्म वडा तहका सम्भावित उमेदवारहरुको नाम जिल्लामा पठाउने र पालिका तहका सम्भावित उमेदवारहरुको नाम प्रदेश हुदै केन्द्रमा पठाउने काम भएको उहाले बताउनुभयो । सम्भवतः छिटै उमेदवारहरुको अन्तिम टुङगो लगाउने कसरतमा आफुहरु रहेको उहाले बताउनुभयो ।
सल्यानमा गठबन्धन भत्कियो
सल्यानमा भने सत्तागठबन्धन दलहरुका बिचमा चुनावी तालमेल नहुने निश्चित भएको छ । गठबन्धन दलहरुका बिचमा बारम्बार छलफल र बैठक आयोजना गरेपनि सहमती नजुटेपछि चुनावी तालमेलको सम्भावना हाललाई टरेको छ । विशेषगरी साझेदार दल नेकपा माओवादी र कांग्रेसले आ. आफनै दावी र अडानलाई कायमै राखेपछि तालमेल नहुने पक्का जस्तै भएको नेताहरुले बताएका छन् । आज बसेको सत्ता साझेदार दलको बैठकमा कांग्रेस र माओवादी बीच भागबन्डामा कुरा नमिल्दा गठबन्धनको विषय टरेको हो । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले स्वछ प्रतिस्पर्धा गर्ने र गठबन्धन नगर्न निर्णय समेत गरेको कांग्रेस जिल्ला सभापति केस बहादुर विष्टले जानकारी दिनुभयो ।
सल्यानको क्षेत्र नम्बर १ र २ लाइ मिलाएर गठबन्धन गर्ने खालको मोडालिटी थियो तर कांग्रेसले आफुले जितेका पालिका छोडेर सहमति गर्न खोज्दा पनि माओवादी केन्द्रले आफनो अडान नछोडेपछि तत्कालका लागी चुनावी तालमेल गर्ने सम्भावना टरेको नेताहरुले बताएका छन् ।