
काठमाण्डौ,३ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो जेठ १५ गतेदेखि चौबिसै घन्टा सञ्चालनमा आउने भएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब चौबिसै घन्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टीआईएलाई चौबिसै घन्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाण्डौको विमानस्थललाई चौबिसै घन्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा देशको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ । यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले टीआईए २१ घन्टा सञ्चालनमा ल्याउनुभएको थियो । बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा सञ्चालन हुँदै आएको यस विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म सञ्चालनमा ल्याउनुभएको थियो । यद्यपि टीआईएको धावनमार्गको जीर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो । त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो ।