काठमाण्डौ, ३० चैत । कोरोना भाइरसको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्न थालेको छ । संक्रमणको जोखिम कम भएसँगै कोरोना विरुद्धको खोप नलगाएका कतिपयले खोप लगाउन बेवास्ता गरिरहेका छन् भने धेरैजसोले अहिले घर बाहिर निस्कदा मास्क लगाउन समेत छोडेका छन् ।पालिका चुनाव २०७९ नजिकिएसँगै चुनावी गतिविधि बढेको छ । गाउँघर, शहरबजार तथा चोक चोकमा भेला हुने र चुनाव बारे छलफल हुने गरेको छ । तर, यस्ता छलफल र कार्यक्रममा सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरेका छैनन् । कोरोना भाइरसको जोखिम टरिनसकेको भन्दै स्वास्थ्य मन्त्रालयल र स्वास्थ्य विज्ञले मापदण्ड पालनालाई अनिवार्य गर्न आग्रह गर्दै आएका छन् । तर, धेरैजसोले मापदण्ड पालनामा बेवास्ता गरेका छन् ।
फेरि संक्रमण फैलिने आशंका बढाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो । यसैबीच, सरकारले १८ वर्ष माथिका सबैलाई यो वर्ष कोरोना विरुद्धको खोप दिने भने पनि त्यो लक्ष्य पूरा नहुने भएको छ । तर, लक्ष्यको नजिक भने सरकार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १८ वर्ष भन्दा माथिका ९४ प्रतिशतले खोपको एक मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाएका धेरैले दोस्रो मात्रा लगाएका छन् । तर केहीले अझै लगाउन बाँकी छ ।
शतप्रतिशत लक्ष्यमा पुग्न नसके पनि लगभग नजिक पुगेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो । अहिले कोरोना विरुद्धको खोप पर्याप्त छ । खोप लगाउन बाँकी रहेका व्यक्तिले चाहेको बेलामा खोप लगाउन पाउँछन् । तर, संक्रमणको जोखिम कम भए सँगै उनीहरुले खोप लगाउन बेवास्ता गरिरहेका छन् । यस्ता व्यक्तिलाई सम्झाई बुझाई गरी खोप लगाउने गरिएको अधिकारीको भनाइ छ । सरकारले अहिले १२ वर्ष भन्दा माथिका बालबालिकालाई पनि खोप दिइरहेको छ । तर, अहिले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने अभियान चलिरहेकाल यो खोप लगाएको १५ दिनसम्म कोरोना विरुद्धको खोप नलगाउन डाक्टर समिरकुमार अधिकारीको आग्रह छ ।
उज्यालो अनलाईबाट



