तुलसीपुर उपमहानगरको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा

तुलसीपुर, २८ चैत्र । दाङ स्थित तुलसीपुर उपमहानगरपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको काम करिब ९० प्रतिशत पुरा भएको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन योगीले जानकारी दिनुभयो । भवनमा अहिले टायल, इट्टा विछ्याउनेदेखि पलस्तर गर्ने काम भइरहेको छ । अन्डरग्राउण्ड पार्किङ रहेको तीनतलाको प्रशासनीक भवन रहेको छ । लिफ्ट डिजायनमा रहेको भवनमा एउटा सभा हल, र ३० वटा कोठा रहेको इन्जिनियर योगीले बताउनुभयो ।

२०७९ साल असार मसान्त भित्र भवनको निर्माण कार्य पुरा गर्नेगरी सि.एम./प्रेमधन/स्लेट जे.भीले २०७७ जेठ २२ गते तुलसीपुर उपमहागनरपालिकासंग सम्झौता गरेको थियो । भवन निर्माणका लागि निर्माण कम्पनीले भ्याट बाहेक ३ करोड ९० लाख ३६ हजार एकसय ७७ रुपैयाँमा ठेक्का लिएको छ । निर्माण कम्पनीले समय अगाबै बैशाख महिनाभित्र भवन हस्तान्तरण गर्नेगरी काम तिब्र गतिमा गरेको उपमहानगरपालिकाले जनाएको छ । हाल संचालनमा रहेको प्रशासकीय भवन साँगुरो र अपुग भएका कारण नयाँ प्रशासकीय भवन निर्माण गरेको तुलसीपुर उपमहागनरपालिका प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयो । भवन निर्माण भएमा नागरिकलाई एउटै भवनबाट सहज रुपमा सबै प्रकारका सेवा प्रदान गर्न सकिने उहाँले बतउँनुभयो ।

‘यो उपमहानगरको हाम्रो गौरवको योजना हो । जहाँ बस्नका लागि अहिले पनि कोठाहरु अपुग छन् । स्वास्थ्य, कृषि र पशु शाखा कार्यालयहरु अहिले पनि कोठा भाडामा लिएर बसीरहेका छन् । यो भवन निर्माण भएमा उपमहानगरले प्रवाह गर्ने सबै सेवा सुविधा एउटै भवनबाट छिटो छरितो रुपमा हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, ‘ सेवाग्राहीले पनि कहिले तल कहिले माथि गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ ।’

यता तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले आफु आउँदा समस्यामाथि समस्याका चाँङ भए पनि विदा भएर जानै लाग्दा नया आउने जनप्रतिनिधीलाई व्यवस्थीत र सुविधान सम्पन्न प्रशासनिक भवन र काम गर्नका लागि स्पष्ट दृष्टिकोण भाएको दिर्घकालिन रणनैतिक योजना हस्तान्तरण गरेर जान लागेको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया