काठमाडौं २२ चैत। सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । समितिमा कांग्रेसबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी छन् । बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको छ ।

