तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै

फाईल फोटो

काठमाण्डौ,२० चैत । तीन दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल अस्ति नयाँदिल्ली गएको थियो ।स्वदेश फर्कनुअघि देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाने कार्यक्रम छ । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुहुनेछ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नुहुनेछ ।

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाइएको छ। हिजो नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले हस्ताक्षर गर्नुभएको थियो ।सम्झौतापछि नयाँदिल्कलीस्थित हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो । त्यसक्रममा देउवाले द्विपक्षीय संयन्त्रमार्फत विद्यमान सीमा समस्या समाधानको लागि मोदीसमक्ष प्रस्तावपनि गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया