तुलसीपुर, १७ चैत । ईलाका प्रशासन कार्यालय तुलसीपुरले सेवाग्राहीहरुको अत्यधिक चाप बढेपछि कार्यालय समय बढाएको छ । राष्ट्रिय परिचय पत्र र राहदानी सेवा लिन आउने सेवाग्राहीहरुको बढि भिडभाड हुन थालेपछि आफुहरुले हाललाई सेवा समय बढाएको कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो । सेवाग्राहीहरु विहानै देखी कार्यालय गेटमा आएर घण्टौ समय लाईनमा बस्न थालेपछि कार्यालयले आन्तरिक रुपमा सेवा प्रवाह गर्ने समय बढाएको उहाले बताउनुभयो । कर्मचारी व्यवस्थापन र खर्च व्यवस्थापनका लागी माथिल्लो निकायमा जानकारी गराए पनि हाललाई कार्यालयले व्यवस्थापन गर्ने उहाले बताउनुभयो । विशेष गरी पासपोर्ड बनाउन आउने सेवाग्राहीहरुका लागी विहान छ बजेदेखी बेलुका ७ बजे सम्म कार्यालय खुला रहने उहाले बताउनुभयो । यो नियम विहिवार देखी लागु भएको छ ।
सेवाग्राहीहरुको माग र चाहाना अनुसार सहज बनाउन आफुहरुले यस्तो निर्णय लिनु परेको उहाले बताउनुभयो । कार्यालयको नियमित सेवा विहान १० देखी ४ बजेसम्म भएपनि आफुहरु अतिरिक्त समय बढाएको उहाले बताउनुभयो । कार्यालय खुला हुने भएपछि अबदेखी गेटमै घण्टौ समय लाईनमा बस्नु पर्ने बाध्यता अन्त्य हुने विस्वास गरेको उहाँले बताउनुभयो । यस अघि दैनिक एक सय जनालाई पासपोट सेवा दिने गरेकोमा अब अतिरिक्त समय थप भएसंगै दैनिक दुई सय जना सेवा ग्राहीलाई सेवा दिन सकिने उहाले जानकारी दिनुभयो । सरकारले देशभर एमआरपी पासपोट विस्थापित गरी ई पासपोट सेवा सुरु गरे संगै सेवाग्राहीहरुले सास्ती पाउने गरेका छन् । राष्ट्रिय परिचय पत्र भएकाले मात्रै ई पासपोट सेवा लिन पाउने व्यवस्था भएपछि सेवाग्राहीहरुलाई सास्ती भएको हो ।



