
तुलसीपुर, १६ चैत्र । सामुदायिक मनोसमाजिक कार्यकर्ताहरुका लागि १० दिने आधारभूत तालिम तुलसीपुरमा सम्पन्न भएको छ । सामुदायिक मनोसामाजिक परामर्श कार्यकर्ता उत्पादन गर्ने उद्देश्यले दुई चरणमा तालिम संचालन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) का संयोजक वसन्ता पुनले जानकारी दिनुभयो । तालिम लिएका मनोसामाजिक परामर्शकर्ताले आ–आफ्नो वडामा गएर मानसीक तनावमा परेका महिला, पुरुष, किशोर, किशोरी तथा बालबालिकालाई परामर्श दिनेछन् ।
समाजमा वैदेशिक रोजगारी, गरिबी, पारिवारीक कलह आदीका कारण पिर, चिन्ता, डर, भय त्रास, अनिन्द्राका कारण मनोरोगीको संख्या बढ्न थालेपछि त्यसलाई न्युनिकरण गर्न मनोपरामर्स कर्ता तयार गरेको संयोजक पुनले बताउनुभयो । कार्यक्रमको समापन अवसरमा सीएमसी नेपालकी प्राजेक्ट म्यानेजर तथा प्रशिक्षक स्मृति घिमिरेले ससाना कुराका कारण दिनप्रतिदिन डिप्रेसन हुने नागरिकको संख्या बढ्दै गएको बताउँदै स्थानीय सरकारले पुर्वाधार विकास मात्रै भन्दा मनोसामाजिक परामर्श तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । तालिममा उपमहानगरका २३ जनाको सहभागिता रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षता तथा उप्रमुख माया शर्माको प्रमुख आथित्यमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपाने, सामीका कार्यक्रम अधिकृत विष्णु अर्याल, वित्तीय साक्षरता क्षेत्रीय संयोजक निल प्रसाद गौतम, मनोसामाजिक सुपरभाइजर विनय महर्जन, सहभागीको तर्फबाट हरीकला वली लगाएतले बोल्नु भएको थियो ।
यसैबिच सामी परियोजना कार्यान्वयनका लागि स्थानीय सरकारको पदाधिकारीसंग समन्वय बैठक पनि बुधबार तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका उप्रप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना संयोजक वसन्ता पुनले उपमहानगरपालिकामा सामीले हालसम्म गरेका गतिविधि, त्यसको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो भने वित्तीय साक्षरता क्षेत्रीय संयोजक निल प्रसाद गौतम, वित्तिय साक्षरता विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो ।