आज केही ठाउँमा क्षणिक वर्षाको सम्भावना

चैत १६,  काठमाण्डौ – आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि दाङ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म छ । कतै कतै हल्का पानी परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । दिउँसो पनि काठमाण्डौसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

नेपालमा अहिले भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । पर्सि शुक्रबारसम्म मौसम यस्तै रहने अनुमान छ । यस्तै, तत्काल काठमाण्डौको प्रदूषण हट्ने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् । प्रदूषण हट्न हावाहुरी र ठूलो पानी पर्नुपर्ने तर अहिले त्यस्तो नदेखिएको मौसमविद् मानन्धरले बताउनुभयो ।

‘पानी नपरेसम्म धुम्म भएको मौसम खुल्दैन’ उहाँले भन्नुभयो,‘ वायुमण्डलमा थेग्रिएर बसेको प्रदूषण पखाल्नेगरी वर्षा गराउने प्रणाली भित्रिएको छैन ।’

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया