२०८३ बैशाख १७ गते बिहिवार

सञ्चालनमा आयो निर्वाचन कल सेन्टर , सूचना लिन ११०२ मा फोन गर्न सकिने

काठमाडौं १५ चैत । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि स्थापना गरेको ‘कल सेन्टर’ आज मङ्गलवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ ।  चुनावका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।  विगतमा ११ अङ्क नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनालाई खटाइएको छ । आउँदो स्थानीय तहको चुनावसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।

निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गर्नुभयोे ।  प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिनुभयो । चुनावसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भनेर आयोगले विगतदेखि नै चुनावका बेला कल सेन्टर सञ्चालन गर्दैआएको हो ।  ‘सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सहजै जानकारी प्राप्त गरुन् र आफूले चाहेको उम्मेदवारलाई निर्भयपूर्वक मतदान गर्न सकुन् भन्नेमा आयोगले विशेष ध्यान पुर्‍याउँदै आएको छ’, उहाँले भन्नुभयो, ‘कल सेन्टर मतदाताको आकर्षणको निम्ति हो । सेन्टरमा जवाफ दिने भूमिकामा रहनुभएकाले पनि सुझबुझका साथ विनम्र भएर जवाफ दिनु होला ।  आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाई सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरूपमा  सम्बोधन गर्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया