
तुलसीपुर, १५ चैत । स्थानिय जनप्रतिनिधि तथा सरोकारवाला संग तुलसीपुरमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहआयोजनामा कार्यक्रम भएको हो ।सो कार्यक्रममा खाद्य स्वच्छता बारे प्रकाश पार्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्वल रायमाझीले हरेक नागरिकले स्वास्थ्य स्वथ्य राख्नका लागी खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने बताउनुभयो । खानेकुराबाट विभिन्न खाले रोग संक्रमणको जोखिम हुने भएकाले यस प्रति हरेक नागरिकले ध्यान दिनुपर्ने उहाले बताउनुभयो ।
विशेषगरी जंगफुड, रंग प्रयोग भएका खानेकुरा, किटनाषक औषधी बढि प्रयोग गरिएका बस्तुहरु ,प्लाष्टिकजन्य याकेजिङ गरिएको, पत्रपत्रिका जस्ता कागजले पोको पारिएका खाद्य बस्तुहरु स्वास्थ्यका लागी बढि हानिकारक तत्व हुने गरेको उहाले बताउनुभयो ।होटेल,रेष्टुरेन्टहरुमा जेरी,समोसा,रोटी जस्ता खानेकुराहरु पत्रपत्रिकाले छोप्ने वा पोको पार्ने प्रचलन कारण स्वास्थ्यका लागी बढि हानिकारिक रसायन बस्तु हुने भएकाले यस प्रति व्यवसायी तथा उपभोक्ताहरु सचेत हुनु पर्ने उहाले बताउनुभयो । पत्रपत्रिका जन्य कागजमा मसीजन्य केमिकल प्रयोग गरिएको हुदा यसमा खानेकुरा पोको पार्न नहुने उहाले बताउनुभयो ।
यस्तैगरी तरकारी जन्य बस्तुहरुमा पनि रासायनिक मल तथा किटनाषक औषधी प्रयोग गर्ने भएकाले स्वास्थ्य सुरक्षा दृष्टिकोणले संक्रमणको जोखिम हुने उहाले बताउनुभयो । आफनो स्वास्थ्य प्रति आम उपभोक्ताहरु सचेत हुनु पर्ने बताउदै उहाले उपभोक्ताको स्वास्थ्य प्रति गम्भिर लापरवाही गर्ने व्यापारी तथा उद्योगीलाई कारवाही गर्न सकिने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो ।खाद्य ऐन २०२३ अनुसार दुषित वा न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद वा ५० हजार रुपैंया सम्म जरिवाना वा दुवै सजाय हुने र यस्तो मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुने व्यवस्था गरिएको उहाले बताउनुभयो ।
यस्तैगरी यस बाहेक खाद्य नियममा भएका अन्य कुराहरु उल्लङ्घन गर्ने व्यक्तिलाई १० हजार सम्म जरिवाना र यस्तो मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने कानुनी व्यवस्था रहेको छ ।सो अवसरमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलले भान्सा देखी मुख सम्म सरसफाईमा ध्यान दिनुपर्ने उहाले बताउनुभयो । दुषित तथा फोहोरका कारण पनि विभिन्न खाले रोगहरु लाग्न सक्ने भएकाले खानु अघि सरसफाईमा ध्यान दिनुपर्ने उहाले बताउनुभयो ।साथै हरेक सरसमान खरिद गर्दा गुणस्तरिय हो वा होईन भन्ने कुरालाई राम्रो संग ख्याल गर्नु पर्नेमा उहाको जोड छ ।
सो अवसरमा बोल्ने अन्य बक्ताहरुले फलफुल देखी खाद्य बस्तुहरु स्थानिय उत्पादन जोड दिनुपर्ने र बाहिरबाट आयात हुने विषादी प्रयोगयुक्त सामानलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । स्थानिय उत्पादनलाई बढवा नदिने र आयात बस्तुलाई प्रयोग गर्ने प्रवृत्तीको अन्त्य गर्नुपर्ने उनीहरुको जोड छ । उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित सरक्षण मन्च दाङका अध्यक्ष केशव कुमार आचार्य, तुलसीपुर ५ का वडा सदस्य अजय बुढाथोकी, उद्योग शाखा प्रमुख रेवा रावत,महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ,विपत व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले गर्नुभएको थियो ।