आगलागी तथा डढेलो नियन्त्रणमा नागरिकले सावधानी अपनाउनु पर्ने

सांकेतिक तस्विर

 तुलसीपुर, १५ चैत । गर्मि तथा सुक्खा मौसम सुरु भए संगै आगलागी र डढेलोका घटना बढ्न थालेका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक अनुसार गर्मियाम सुरु भएसंगै अहिले हरेक दिन आगलागी र डढेलोका घटना हुने गरेका छन् । गत शनिवार पश्चिम दाङको शान्तिनगर चिराघाट स्थित एक घर नजिकैको परालतौवामा आगलागी घटना भयो । जंगल नजिकै रहेको पराल तौवामा एक्कासी आगलागी भएपनि जनधनको क्षति भने भएन । यस्तैगरी आईतवार उदयपुरमा आगलागी हुदा एक जनाको ज्यान गएको छ भने सात वटा घर जलेर नष्ट भयो ।यी आगलागीका घटना एउटा उदाहरण मात्रै हुन् । गर्मि मौसम सुरु भएसंगै दाङ सहित देशका विभिन्न स्थानमा कयौँ आगलागीका घटनाहरु दैनिकजसो हुने गरेका छन् ।

यस्ता आगलागी तथा डढेलोका घटना हुन नदिन स्वयम नागरिक सचेत हुनुपर्ने तुलसीपुरका स्थानिय पोष्ट बहादुर बुढामगरले बताउनुभयो । हरेक नागरिकहरुले प्रज्वलन बस्तुलाई सावधानीका साथ प्रयोग गर्ने र जथाभावी प्रयोग नगर्ने कुरालाई गम्भिर रुपमा लिनुपर्ने उहाको भनाई छ ।आगलागी तथा डढेलाका घटनाहरु अधिकांस मानविय लापरवाहीकै कारणले हुने गरेका तथ्यहरु अध्ययन प्रतिवेदनले देखाउने गरेको छ । चाहे घरमा होस वा वनजंगलमा । यस्ता घटनालाई न्युनीकरण गर्न नागरिक सचेत बन्नुको साथै गाउँसमाजमा सचेतना फैलाउन आबश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।

गर्मि समयमा सुख्खा हुने र हावाहुरी चल्ने भएकाले आगलागी र डढेलोको जोखिम हुने गर्दछ । यस्तो अवस्थामा प्रहरी प्रशासनले समेत सचेतना फैलाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालको भनाई छ । यसका साथै तिनै तहका सरकार, सरोकारवाला निकायले पनि विशेष सचेतनाको अभियान संचालन गर्न जरुरी रहेको छ ।साथै वन डढेलो घटनामा संलग्न दोषीहरुको पहिचान गरी कारवाही गर्नुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । बर्षेनी गर्मियाममा घर तथा जङ्गलमा हुने आगलागीका कारण जनधनको क्षति हुने गरेको छ । आगोको सानो झिल्कोले समेत ठूलो क्षति पुर्याउने भएकाले लापरबाही नगर्न, घाँसको लोभमा जङ्गलमा जानीजानी डढेलो नलगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलको सुझाव छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया