
काठमाण्डौ, १३ चैत । हावाहुरी र सुक्खा मौसम सुरु भएपछि आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । हरेक दिन आगलागी र १०र१२ ठाउँमा डढेलोका घटना भइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।शनिवार एकैदिन रामेछाप, सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । रामेछापमा २२ वटा घरगोठ, सर्लाहीमा १४ घर र दोलखामा दुई घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–८ सल्लेरीको तीनदोबान भिरपाखा, सिन्धुलीको सिन्धुलीमाडी सामुदायिक वनमा डढेलो लागेको छ । यसवर्ष ७७ वटा जङ्गलमा डढेलो लागेको छ । घर तथा जङ्गलमा भएको आगलागीबाट यसवर्ष मात्रै ८८ जनाले ज्यान गुमाएका छन् भने तीन सय ६८ जना घाइते भएका छन् । यी घटनामा २६ सय ६७ परिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ । झन्डै साढे दुई अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ ।
अघिल्लो वर्ष चैत लागेसँगै नेपालका सयौँ ठाउँमा एकै पटक डढेलो लागेको थियो । एकैदिन पाँच सयभन्दा धेरै ठाउँमा डढेलोका घटना भएका थिए । डढेलोकै कारण फैलिएको प्रदूषणले पोहोर यो बेला चार दिन विद्यालय समेत बन्द गरिएको थियो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कम डढेलो लागेको भए पनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।डढेलोको प्रकोपका हिसाबले गएको वर्ष दशकौँयताकै सबैभन्दा खराब वर्ष मानिन्छ । आगलागी तथा डढेलो लाग्न नदिन व्यक्ति र समुदाय नै सचेत हुनुपर्नेमा उहाँको जोड छ । आगोको सानो झिल्कोले ठूलो क्षति पुर्याउने भएकाले लापरबाही नगर्न, घाँसको लोभमा जङ्गलमा जानीजानी डढेलो नलगाउन पनि उहाँको सुझाव छ ।
उज्यालो अनलाईनबाट