म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर बढी आवेदन

फाईल फोटो

काठमाडौँ,११ चैत । सरकारले स्थानीय तहको चुनावी सुरक्षाको लागि एक लाख म्यादी प्रहरी राख्ने गरि माग गरेकोमा दोब्बर भन्दा बढि आवेदन परेको छ । हिजोसम्म २ लाख ५४ हजारले आवेदन दिएका हुन् । बेरोजगारीका कारण निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी बन्न चाहनेको सङ्ख्या उल्लेख्य भएको हो । नेपाल श्रम सर्वेक्षण २०१९ अनुसार नेपालमा प्रत्येक वर्ष कम्तीमा १६ देखि २० लाख युवा श्रम बजारमा आएपनि पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउने गरेका छन् । केन्द्रीय तथ्याङ्क ब्युरोले गत वर्ष सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल नेपालमा ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीप अनुरूप रोजगारी पाएका छैनन् ।

अहिले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले युवाहरूलाई लक्षित गर्दै रोजगारमुलक कार्यक्रम चलाइरहेका छन् । तर सङ्घीयता र विभिन्न रोजगारमूलक कार्यक्रम चलिरहेको अवस्थामा पनि बेरोजगार युवाहरूको सङ्ख्या घटेको छैन । सरकारले बेरोजगार युवालाई रोजगारी दिने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रमलगायत विभिन्न कार्यक्रम लागू गरेको छ ।

यस्तै सरकारसँग अनुदानमा आधारित कृषिकर्म देखि विदेशमा सिकेको सिपको आधारमा नेपालमा काम गर्ने गरिका योजना पनि छन् । तर नेपालमा बेरोजगारको दर घट्न नसकेको पूर्व मुख्यसचिव विमल कोइरालाले बताउनुभयो । अनुदानमा आधारित स्वरोजगारमूलक कार्यक्रम कार्यान्वयनमा झन्झटिलो सरकारी प्रक्रिया झेल्नुपर्ने भएकाले पनि नागरिक जागिरकै खोजीमा हिड्ने गरेका छन्, तर देशमा आफू अनुकुलको काम नपाएपछि विदेश जानेहरूको सङ्ख्या पनि घट्न सकेको छैन ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया