खतरा लेखेर छाडिएको प्रेसर कुकरभित्र चार तोला सुनका गहना

कैलाली, ८ चैत्र । कैलालीमा खतरा लेखेर सडकमा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेको प्रहरीले जनाएको छ । आज बिहान गोदावरी नगरपालिका–१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन् ।

गेटअगाडि शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए । बम डिस्पोज गर्न पुगेको नेपाली सेनाको टोलिले उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहना फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताउनुभयो ।

कुकरभित्र गहना राख्नुकाो कारणका सम्बन्धमा अनुसन्धान भइरहेको छ । गहनासँगै फेला परेको कागजमा नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको प्रहरीले जनाएको छ।  नवीन साहुले गत मंसिर १४ गते राति घरबाट सुनका गरगहना चोरी भएको भन्दै प्रहरीमा खाजी कार्यका लागि निवेदन दिनुभएको थियो ।

उहाँका दम्पती काठमाडौं गएका बेला घरमा लगाएको ताल्चा, ढोका र दराज फोडेर झुम्का, औंठी, हार, तिलहरीलगायत ८ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको निवेदनमा उल्लेख छ। घटना भएको अर्को दिन साहु दम्पतीले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेका बेला यसरी फेला परेका गहना उनकै हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया