
काठमाण्डौ, ८ चैत । नेकपा (एमाले)ले आगामी स्थानीय तहको निर्वाचनका लागि वैशाख ९ गते स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । काठमाडौंमा सुरू भएको पार्टी पोलिटब्युरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणापत्र र सबै स्थानीय तहले आ–आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहका निर्वाचनमा उम्मेदवार तय गर्ने विधि र मापदण्ड पनि निर्धारण गरिने बताउनुभयो । उहाँले नगरपालिकाको मेयर, उपमेयरको हकमा प्रदेश कमिटीले र उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने उल्लेख गर्नुभयो । उहाँले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि आवश्यक विभाग गठन गर्ने अनुमति आवश्यकता अनुसार प्रदेश र जिल्ला कमिटीलाई दिने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।