दलित समुदाय माथी राजनितिक दलले बेईमानी गरे : नेपाली

तुलसीपुर, ७ चैत । २१ मार्च अर्थात ५७ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा दाङमा विभिन्न सामाजिक संस्थाले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेका छन् । दिवसकै अवसरमा तुलसीपुरमा दलित नागरिक समाज दाङको आयोजनामा दलित समुदायको समावेशी प्रतिनिधित्वको सवाल र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम भएको छ ।संस्थाका अध्यक्ष छवि परियारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले राजनितिक दलले बेईमानी गरेकै कारण अहिले सम्म जातिय विभेद अन्त्य हुन नसकेको बताउनुभयो । विगतको तुलनामा अहिले राज्य व्यवस्था बदलिए पनि सत्ता संचालन गर्ने राजनितिक दलहरुले दलित समुदायहरुको जातिय विभेदको मुद्धालाई प्रभावकारी कार्यन्वयन नगर्दा समस्या भएको उहाले बताउनुभयो ।

विगतमा भएका राजनितिक तथा जातिय आन्दोलनकै कारण अहिले दलित समुदायका थुप्रै अधिकारको व्यवस्था भएपनि कार्यन्वयन पक्ष फितलो हुदा विभेद कायमै भएको उहाले बताउनुभयो । यसलाई पुर्ण रुपमा कार्यन्वयन गर्नका लागी ठोस निति बनाउनु पर्नेमा राजनितिक दलका नेताहरुले यस प्रति व्यवास्ता गरेका छन् । उहाले हरेक राजनितिक दलको आनदोलनहरुमा दलित समुदायहरुको महत्वपुर्ण योगदान र भुमिका भएपनि उनीहरुले दलितलाई पुर्ण अधिकार दिन नचाहेको बताउनुभयो । विगतमा जातिय छुवाछुत अन्त्य गर्नका लागी धेरै आन्दोलन र संघर्ष गर्नुपरेको बताउदै उहाले जसले गर्दा संघिय लोकतान्त्रिक गणतन्त्रपछि दलित अधिकारका लागी थुप्रै व्यवस्था भयो, उहाले भन्नुभयो, तर कार्यन्वयन गर्न राजनितिक दलबाटै व्यवास्ता भएको छ । राज्य सत्ता संचालन गर्ने राजनितिक दलका नेता भएकाले उनीहरुबाट अधिकार कार्यन्वयन गर्न कन्जुस्याई भएको उहाको भनाई थियो ।

सो अवसरमा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले राजनितिक दलहरुले हरेक परिवर्तनमा दलित समुदायलाई प्रयोग मात्रै गर्ने प्रबृत्तिको विकास भएको बताउनुभयो । जातिय विभेद राष्ट्रिय समस्या र मुद्धा भएकाले राजनितिक दलले सत्ता संचालन गरेको हुदा यसका लागी नेताहरु संवेदनशिल नभएको उहाको भनाई छ । निर्वाचनका बेला दलितय समुदायहरु माथी झुट्टा आश्वासन बाँड्ने, विभेद गर्दैनौँ भन्ने तर व्यवहारमा कार्यन्वयन नगर्ने संस्कार रहेको उहाले बताउनुभयो । बर्षौ देखी आफुहरुले जातिय विभेद अन्त्य गर्नुपर्छ भनेर बोल्दै आएकोमा अब राजनितिक दलहरुले नै साथ दिए मात्रै यो सम्भव हुने उहाको भनाई छ । हरेक राजनितिक दलमा दलित समुदायहरु आबद्ध भएकाले अबको परिवर्तन र जातिय विभेद अन्त्य राजनितिक दलबाटै सम्भव भएकाले सामुहिक रुपमा दबाब दिनुपर्ने उहाको भनाई छ ।

सो अवसरमा बोल्ने अन्य बक्ताहरुले जातिय छुवाछुतलाई अन्त्य गर्नका लागी सम्पुर्ण दलित समुदायहरु एकजुट भई राज्यलाई दबाव दिनुपर्ने बताएका छन् । जातिय विभेद अन्त्यका लागी राज्यको प्रमुख दायीत्व हुने भएकाले तिनै तहका सरकार जिम्मेवार हुनु पर्ने उनीहरुको भनाई छ । सो अवसरमा राष्ट्रिय दलित आयोगका पुर्व केन्द्रिय सदस्य तथा राप्रपाका केन्द्रिय सदस्य मिना स्वर्णकार, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, नेपाली कांग्रेसका नेता चेत बहादुर सेपाईली, कांस्रेस तुलसीपुर नगर समितिका उपसभापति गौरव सुवेदी,माओवादी केन्द्र तुलसीपुर नगर कमिटि सदस्य पदमा कडेल, जनता समाजवादी पाटीका जिल्ला सहईन्चार्ज टोप बहादुर महतरा,दलित महिला संघ दाङका अध्यक्ष युवा करारा, नेपाल महिला एकता समाजका अध्यक्ष यमुना परियार, तुलसीपुर ५ का वडा सदस्य मधु सुनार, दलित मुक्ति मोर्चा दाङका अध्यक्ष हिरा सुनार र सार्कि समाज दाङका अध्यक्ष जोगेन्द्र पुरुष लगाएतले बोल्नु भएको थियो ।

दलित अधिकार तथा सन्चार अभियानका महासचिव सन्तोष चनाराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपालीले जातिय विभेद सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । दलित अधिकारकर्मी खेमराज विश्वकर्माले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन दलित अधिकारकर्मी खेमराज सेन्चुरीले गर्नुभएको थियो । सो अवसरमा शिक्षक तथा युवा सन्तोष परियारले जातिय विभेद सम्बन्धी साहित्य रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया