स्थानियको आक्रमणमा परी महिला प्रहरीको मृत्यु

फाईल फोटो

मोरङ,७ चैत । मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।उहाँको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि हिजो विद्यालयमा यसबारे छलफल भएको थियो ।

छलफल भइरहँदा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो ।आक्रोशित स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेको र आक्रमणमा परेर प्रहरी जवान श्रेष्ठको ज्यान गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । उहाँका अनुसार अरु केही प्रहरी घाइते भएका छन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको र लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया