
दाङ, १ चैत । दाङमा दुग्धजन्य पदार्थको नयाँ मूल्य आजदेखि कार्यान्वयनमा आएको छ । सरकारले यसअघि नै दुध तथा दुग्धजन्य पदार्थको नयाँ मूल्य निर्धारण गरेपनि जिल्लामा आजदेखि कार्यान्वयनमा आएको हो । डेरी व्यवसायी, किसान र स्थानीय सरकार लगायतका सरोकारवालाको बैठकले आजदेखि दूध, दही र पनिरको नयाँ मूल्यमा लागु गरेको हो ।
आजदेखि दूधमा प्रतिलिटर १० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धी भएको छ । अब उपभोक्ताले दुध प्रतिलिटर ९० रुपैयाँ र दहि प्रतिलिटर एक सय रुपैयामा पाउनेछन् । त्यसैगरी किसानको घरमा खरिद गर्दा दूध प्रतिलिटर ६६ रुपैयाँ र डेरीसम्म किसानले आफै ल्याए ७० रुपैयाँ प्रतिलिटर मूल्य पर्ने छ । यस्तै घ्यूको मूल्य प्रति किलो एक हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यस अघि एक हजार २ सय रुपैयाँमा कारोबार हुँदै आएको थियो । पनिरमा प्रतिकिलो ७ सयबाट एक सय बढाएर ८ सय रुपैयाँ पुगेको हाम्रो पहुँच डेरी विभागका प्रमुख शिब पौडेलले जानकारी दिनुभयो । तर घोराहीमा दहिको मूल्य प्रतिलिटर २० रुपैँयाले बढेको छ । घोराहीमा अब दहि प्रतिलिटर ११० रुपैँया पुगेको छ ।