
काठमाण्डौ १ चैत । राजस्व अनुसन्धान विभागले गैरकानुनी तरिकाले डलर सटही तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा ९ करोड ७४ लाख ६९ हजार ९ सय ८३ रूपैयाँ बिगो माग गर्दै मोरङ रतुवामाई नगरपालिका(७ का २८ वर्षीय पुष्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बुमाथि मुद्दा दायर गरेको हो।
विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले दिएको जानकारीअनुसार उनीहरूले मोबाइल एप वान एक्स बेट, बाइनान्स, एडिभी क्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरि अनलाइनमार्फत अवैध रुपमा डलरको कारोबार गरेको जानकारी दिए। अनुसन्धानबाट पुष्करले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४ सय २९, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार ९९, एनआइसी एसिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८ सय ८९ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५ सय ३९ गरी ७ करोड ५७ लाख ७१ हजार ९ सय ५८ रूपैयाँ विनिमय गराएको अनुसन्धानमा खुलेको पाण्डेले बताए। यस्तै, विनिताले भने एनआइसी एसिया बैंकबाट २ करोड १६ लाख ९८ हजार २४ रूपैयाँ विनिमय गरेको देखिएको छ। विदेशी विनिमय ९नियमित गर्ने० ऐन अन्तर्गत पुष्कर र विनितालाई बिगो जफत र ३ वर्षसम्मको कैद सजायको माग दाबी गरिएको उनले बताए।