
तुलसीपुर, २८ फागुन । आज(शनिवार)देखि दाङ सहित देशभरका १० जिल्लामा हात्तिपाइले रोग विरुद्वको औषधी खुवाउने अभियान सुरु भएको छ । हात्तीपाईले रोग निवारण हुन नसकेका दाङ सहित झापा,बारा,लमजुङ,पर्वत,बागलुङ,मोरङ,कपिलवस्तु,बाँके र कैलाली जिल्लामा औषधी खुवाउन सुरु गरिएको हो । हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम सुरु भएको छ ।सोहि अनुरुप दाङमा पनि आजदेखी जिल्लाका दश वटै पालिकामा औषधी खुवाउन सुरु गरिएको छ ।
आज पहिलो दिन सम्बन्धित स्वास्थ्य संस्था र तोकिएको बुथबाट औषधी खुवाईएको छ । भोलिदेखी प्रत्येक नागरिकका घरघरमा पुगेर औषधी खुवाईनेछ ।यसैबिच नेपाल रेडक्रस सोसाईटी दाङ जिल्लाको ३८औं जिल्ला सभा हात्तीपाइले रोगविरुद्धको औषधी खाएर आज उद्घाटन गरिएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुपरिटेन्डेन्ट डा. विनोद सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सभापति नारायण आचार्य लगायत सहभागी रेडक्रसकर्मीहरुले औषधी खाएर कार्यक्रमको उद्घाटन गरिएको छ ।
उक्त कार्यक्रममा जिल्ला भरीका १६ वटा उपशाखाका प्रतिनिधि, जिल्ला कार्यसमिति लगायतको उपस्थिति रहेको थियो ।यस्तैगरी तुलसीपुर क्षेत्रका विभिन्न स्वास्थ्य संस्था र तोकिएको बुथबाट औषधी खुवाईएको छ । तुलसीपुर ४ मा रहेको सामुदायिक स्वास्थ्य ईकाई रक्षाचौरमा पनि आज हात्रीपाईले रोग विरुद्धको औषधी खुवाईएको छ । यस्तैगरी सामुदायिक स्वास्थ्य ईकाई कल्लेखोलामा पनि नागरिकहरुलाई उचाई अनुसार हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईएके छ ।