‘एयर बबल’ हटेसँगै नेपालबाट भारतको नियमित उडान सुरु हुने

फाईल फोटो

काठमाण्डौ,२६ फागुन । भारतले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेपछि नेपालबाट नियमित उडान हुने भएको छ । भारत सरकारले कोरोना महामारीका कारण दुई वर्षदेखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।‘एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरूबाट सिमित सङ्ख्याका उडानहरूको अनुमति मात्रै दिइएको थियो । भारतले एयर बबल हटाएसँगै अब भारतका विभिन्न सहरमा नेपालबाट नियमित उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनुभयो ।

उहाँले अब नेपालबाट भारतको मुम्बई, दिल्ली, बैङ्गलोरसहितका सहरमा उडान सुरु हुने पनि बताउनुभयो । आगामी २७ मार्चबाट लागू हुनेगरी भारतबाट विदेश जान र आउनका लागि पूर्ववतः उडानको अनुमति दिने निर्णय भारत सरकारले गरेको हो ।यसअघि गत १५ डिसेम्बरबाटै सबै व्यवसायिक तथा नियमित उडानको अनुमति दिने निर्णय सरकारले लिएको थियो । तर,कोरोनाको तेस्रो चरणको लहर सुरु भएपछि उडान रोकिएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया