प्रतिनिधिसभाको बैठक बस्दै, कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने

फाईल फोटो

काठमाण्डौ, २२ फागुन । प्रतिनिधिसभाको बैठक आज(आईतवार) बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २१ औँ वार्षिक प्रतिवेदन पेस हुने कार्यतालिका छ ।संसद् बैठकअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै एमालेले लगातार संसद्मा नाराबाजी गर्दै आएको छ । एमालेले संसदको अवरोध कायमै राखे विरोधकै बीच कामकारबाहीलाई अघि बढाउने रणनीति सरकारमा रहेका दलहरूले बनाएका छन् । एमालेको अवरोधकै बीच एमसीसी सम्झौता संसदबाट पारित भइसकेको छ । प्रधानमन्त्रीले पटकपटक संसद अवरोध खुलाउन अनुरोध गरेपनि एमालेले नमानेकाले संसद बैठकलाई अब नियमित कामकारबाहीमा केन्द्रीत गर्ने तयारी भएको काँग्रेस सचेतक पुष्पा भुसालले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया