१० लाखभन्दा धेरै मानिसले युक्रेन छाडे

बीबीसी, १९ फागनु । अघिल्लो बिहीवार यता १० लाखभन्दा धेरै मानिसले युक्रेन छाडेका छन्  रुसी सेनाले रणनीतिक महत्त्वको बन्दरगाह सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको छ । रुसले कब्जा गरेको यो पहिलो महत्त्वपूर्ण सहर हो । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले युक्रेन–रुस युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने अनुमान गरेका छन्
रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको युक्रेनी बन्दरगाह शहर खेअरसन रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका मेयरले बताउनु भएको छ । युक्रेनमाथि अतिक्रमणका क्रममा आफ्ना करिब पाँच सय सैनिक मारिएका र झन्डै १,६०० जना घाइते भएका रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको खार्किभ शहरमा रुसी फौजको भीषण गोलाबारीमा परी थुप्रै सर्वसाधारणले ज्यान गुमाएको आशङ्का गरिएको छ ।  अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युक्रेनमा भएको सम्भावित युद्ध अपराधबारे अनुसन्धान शुरू गर्न लागेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घमा भएको एउटा मतदानमा अधिकांश सदस्य राष्ट्रले युक्रेनमाथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन् ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस र युक्रेनबीच युद्धविराम गराउने कूटनीतिक प्रयासलाई आफ्नो देशले समर्थन गर्ने बताएका छन् ।  रुसी र युक्रेनी अधिकारीहरूबीच दोस्रो चरणको शान्तिवार्ता बिहीवार बेलारुसी सीमा क्षेत्रमा हुने तय भएको छ

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया