तुलसीपुरमा ब्लड बैंक स्थापना,रगत ल्याउन घोराही जानुपर्ने बाध्यता हट्यो

तुलसीपुर,१९ भदौं । बिगत सात बर्षदेखीको नेपाल रेडक्रस सोसाइटी दाङ र राप्ती अञ्चल अस्पतालको विवाद मिलेपछी तुलसीपुरमा ब्लड बैंक सन्चालनमा आएको छ । रेडक्रसले आफ्नो ५५ औ स्थापना दिवसको अवसरमा उक्त ब्लड बैंक आज एक समारोहका बीच उद्घाटन ग¥यो । नेपाल रेडक्रस सोेसाईटिका केन्द्रिय अध्यक्ष सन्जिव थापाले ब्लड बैंकको उद्यघाटन गर्नुभएको थियो ।

ब्लड बैंक उद्यघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तुलसीपुरमा ब्लड बैंकको उद्घाटन गरेर रेडक्रसले थप सामाजिक भार लिएको बताउनुभयो । उहाँले ब्लड बैंकलाई दिगो बनाउन यहाँकै नागरिक सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुरमा ब्लड बैंकलाई दिगो बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

ब्लड बैंक संचालनकालागि यसपटक उपमहानगरले १० लाख रुपैंया बजेट बिनियोजन गरेको जानकारी दिदै आगामी बर्ष आवश्यकता अनुसार बजेट वृद्धी गर्ने प्रतिवद्धता जनाउनुभयो । सांसदद्धय अनारकली मिया र बुद्धीराम भण्डारीले ब्लड बैंकको निरन्तरताकालागि आफूलेहरुले निर्वाचन विकास कोषबाट बजेट बिनियोजन गर्ने बताउनुभयो ।

ब्लड बैंक समाजसेवी बामदेव उपाध्यायले करिव ६० लाखको लगानीमा स्वर्गीय धर्मपत्नि कालिकादेवीको नाममा ब्लड बैंककालागि भवन निर्माण गरिदिनु भएको थियो । कार्यक्रममा बोल्दै समाजसेवी आचार्यले आफूले निर्माण गरेको उहाले निर्माण गरेको भवनमा ब्लड बैंक संचालन हुँदा खुसी भएको बताउनुभयो । सभामुख ओनसरी घर्तिले २०७२ फागुन १४ गते एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको थियो । अञ्चल अस्पताल र रेडक्रस बिच विवाद हुँदा ब्लड बैँक संचालनमा आउन सकेको थिएन । यसअघि तुलसीपुर क्षेत्रमा ब्लड बैंक नहुदा रगतको चाहिएमा घोराही जानुपर्ने बाध्यता थियो ।

रेडक्रस जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्का,एमाले जिल्ला कमिटिका अध्यक्ष टिकाराम खड्का, माओवादी केन्द्रका सेसुराम भण्डारी, राष्टिय जनमोर्चाको जिल्ला कोषाध्यक्ष ऋषिराम पौडेल,अन्चल अस्पतालका निमित्त प्रमुख विनोद सिंह,अस्पताल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटा, साविक तुलसीपुर नगरपालिकाका पुर्व नगर प्रमुख ढुण्डिराज लामीछाने,शंकरप्रसाद आचार्य, पत्रकार महासंघ दाङका सहसचिव गोर्कण पौडेल र क्षेत्रिय सम्वाद समुहका सहजकर्ता सुसील वस्नेत लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र १९ गते सोमवार
प्रतिक्रिया