गोकर्ण पौडेल,दाङ १९ भदौ । माधव वली दाङ जिल्लाका दुवै उपमहानगरका उमेरमा सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८मा रहेको गूरुङ टोलको सडक १४ वर्ष अघिदेखि विवादमा रहेको थियो । उनले असार १०गते मत माग्न जानेक्रममा जुन घरमा नेतृत्वमा आएपछि सडकको विवाद समाधान गर्ने प्रतिबद्वता जानएका थिए ।
त्यो प्रतिबद्वता निर्वाचित भएको दुई महिना पछि पुरा गरेरै छाडेका छन् । उनी जुन घरमा प्रतिबद्वता जनाएका थिए त्यही घरमा गएर उनले वडाको विकासमा सकारात्मक सहयोगको अपेक्षा गरेका बताए । साथै टोलको सडक, विद्युत, खानेपानी समस्या दिनानुदिन रुपमा समाधान गरिने बताए । गुरुङ टोलका स्थानीयहरुले १४ वर्ष सडक खन्ने क्रममा घोराही तुलसीपुुर सडकखण्डदेखि मनिकापुर चौतारासम्म पुग्ने सुरुकै बिन्दुमा जग्गा विवाद भएको थियो ।
स्थानीय नेबबहादुर बस्नेतले सडक बनाउदा जग्गा नदिएपछि गुरुङ टोलवासीहरुले जग्गाको प्रति मिटर २० देखि ५० रुपैयाका दरले रकम संकलन गरेर जग्गाधनी नेबहादुर बस्नेतलाई उनको दुई मिटर चौडा र ४० मिटर लम्बाई जग्गाका लागि एक लाख १५ हजारमा किनेका थिए । स्थानीयहरुले जग्गा किनेतापनि सडक खन्ने क्रममा आनाकानी गर्दै आएकका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले सडकमा देखिएको विवाद समाधानमा पहलकदमी गरेका थिए । त्यसैगरी उक्त सडकको सुरुमै ह्युम पाइप, नाला व्यवस्थापनका लागि तत्काल वडा कार्यालयको ८० हजार र स्थानीयहरुको ३० हजारबढीको श्रमदानबाट उक्त सडक सञ्चालनमा ल्याइएको हो । सडक नहुदाँ बिरामी पर्दा एम्बुलेन्स समेत आउन नसक्ने अवस्था रहेको स्थानीय टेकराज वलीले बताए ।
उता सडक व्यवस्थापन समितिका अध्यक्ष दामोदर शर्माले लामो समयसम्म विवादमा रहेको सडक सञ्चालनका लागि विगतका नेतृत्वबाट कुनै सम्भव नदेखिएतापनि हाल वडाध्यक्षको सक्रियताकै कारण सम्भव भएको बताए । साथै सडकलाई बिस्तारै व्यवस्थित गर्दै लैजाने समेत बतएका थिए । सडक निर्माणका क्रममा एक लाख ७२ हजार खर्च भएको समेत अध्यक्ष शर्माले बताए ।