तुलसीपुर,३१ साउन । तुलसीपुर उपमहानगरका वाढीपीडितहरुलाई राहत वितरणलाई तिव्रता दिइएको छ । उनीहरुलाई जनप्रतिनिधि, सरकारी निकायका अधिकारी र विभिन्न संघसस्थाहरुले पीडित रहेकै स्थानमा पुगेर राहत वितरण गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको संयोजकत्वमा गठित मेयर विपद व्यवस्थापन कोष मार्फत पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सुरु गरिएको छ । हो ।
उनीहरुलाई तुलसीपुर उपमहानगरपालिकाले तत्काल चामल, दाल, भाडा, नुन, तेल, चाउचाउ , च्युरा र जीवनजल लगायतका राहत सामग्री वाढी गएकै दिन वितरण गरिएको थियो । यसैगरी मंगलबार महिला विकास शाखाको सहयोगमा विपदमा परेका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ भने आज इन्लासे नेपाल वाढीपीडितहरुलाई ६० थान ओढ्ने ओछ्याने लुगा वितरण गर्ने संयोजक टोपवहादुर महतराले जानकारी दिनुभएको छ ।
यसैगरि वाढीपीडितको स्वास्थ्य परिक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाको संयोजन र राप्ती औषधि व्यवसायी संघको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गर्ने र उनीहरुलाई औषधि समेत वितरण गर्ने भएको छ । तुलसीपुर वडा नम्वर १३ को रनियापुरमा हुने शिविर विहान ११ वजेदेखि सञ्चालन हुनेछ ।
यसैगरि अम्वापुरमा रहेको अम्विकेश्वरी माविमा वाढीले क्षति पु¥याएपछि वन्द रहेको पठन पाठन खुलाउनका लागि उपमहानगरपालिकाको सहयोगमा डेस्क वेन्च वितरण गर्ने कार्यक्रम पनि रहेको छ । ‘विद्यालयलाई आवश्यक डेस्क वेन्च पनि वितरण गरेर विद्यालय सुचारु गरिनेछ र अन्य वाँकी कुरा पनि विस्तारै सुधार्दै लैजाने छौ’ सोमवार मात्रै मेयर घनश्याम पाण्डे, सांसद डिल्ली चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्र विष्ट लगायतले विद्यालयको निरिक्षण गर्नुभएको थियो ।
स्नेह गृह सञ्चालन
वाढीपीडित गर्भवति र सुत्केरी महिलाहरुलाई सुरक्षित वातावरणमा राख्नका लागि तुलसीपुर उपमहानगरपालिका र ओरेक नेपालको समन्वयमा स्नेह गृह सञ्चालनमा ल्याइएको छ । यस्ता महिलाहरुलाई पोषिलो खाना, नियमित स्वास्थ्य चेकजाँच, न्यानो र आरामदायी कोठाको व्यवस्थासहित गृहको सञ्चालन गरिएको तुलसा गिरीले वताउनु भएको छ ।
वाढीपीडित महिलाहरुलाई यस्तो अवस्थामा संक्रमणको सम्भावना धेरै रहने भएकाले पनि यस्तो यस्तो व्यवस्था गरिएको गिरीले वताउनु भयो । तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा रहेको ओरेक नेपालको कार्यालयमा सम्पर्क गरेर वस्न सकिने पनि उहाँले वताउनु भयो ।
विपद कोषमा सहयोग जम्मा हुँदै
वाढीपीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने उद्देश्यले गठन गरिएको मेयर विपद व्यवस्थापन कोषमा रकम जम्मा हुने क्रम वढिरहेको छ । तुलसीपुर उपमहानगरपालिकाले २५ लाख जम्मा गरेको कोषमा अहिले सम्म रकम जम्मा भएको छ ।
तुलसीपुर नगर जेसिजले १९ हजार ५ सय, यसैगरि रोटरी क्लव तुलसीपुर सिटीले २५ हजार,तुलसीपुर उपमहानगरपालिका निवासी क्यानडाका लागि नेपाली पर्यटन दुत लालवहादुर पण्डितले कोषमा ५१ हजार १ सय ५१ ,राप्ती अञ्चल साना माल वाहक समितिले २१ हजार, राप्ती अन्चल वस व्यवसायी समितिले २५ हजार, तुलसीपुर जिप तथा माइक्रोवस व्यवसायी समितिले २१ हजार, राप्ती अन्चल ट्रक व्यवसायी समितिले २३ हजार, दाङ्ग जिल्ला टेक्टर व्यवसायि समितिले २१ हजार गरि कुल २ दिनमै २ लाख ६ हजार ६ सय ५१ रकम जम्मा भएको छ ।
इन्भेष्टमेन्ट वैकमा रहेको कोषमा सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न उहाले सार्वजनिक अपील गर्नुभएको छ ।।