बाढीका कारण अहिलेसम्म ९१ जनाको मृत्यु

 

काठमाडौं ,३१ साउन । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ९१ जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरो र डुबानमा परेर २५ घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । यस्तै दुई हजार ८४७ घरमा पूर्ण क्षति भएको छ । देशका विभिन्न जिल्लामा भएका बाढी पहिरो र डुबानका घटनाबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीन हजार ७२७ पूर्वाधार संरचनाको क्षति भएको छ । बाढी पहिरो र डुबानबाट प्रभावितको खोज र उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको छ । नेपाली सेनाका सात र निजी क्षेत्रका ६ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधन खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले झापामा ७०० परिवारका लागि ८५१ त्रिपाल, ४७५ थान कम्बल, २६१ सेट भाँडाकुँडा र केही ड्राइफुड वितरण भएको छ भने सुनसरीमा ६४ क्वीन्टल चामल, १२० क्वीन्टल चिउरा, ६७ क्वीन्टल भूजा, ९१० किलो नुन, २१ हजार ४५० वटा चाउचाउ, ५० लि खानेतेल, ५० कार्टुन बिस्कुट, ६४० पोका दालमोठ र तीन क्वीन्टल दाल वितरण गरेको पनि जनाएको छ ।

त्यसैगरी बाढीप्रभावित सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा पनि राहत सामग्री वितरण गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया