सल्यानमा बिद्युत महसुल नतिर्नेको सँख्या बढ्दै, ३१ ग्राहक कालो सुचिमा

बुद्धि पुन, सल्यान , २१ साउन । हरेक ब्यक्ति, संस्था वा कार्यालयले आफ्नो घर, संस्था वा कार्यालयमा बिद्युत लाईन जोडि सकेपछि महसुल तिर्नु पर्ने हुन्छ । तर सल्यानमा बिद्युत महसुल नतिर्नेहरुको संख्या बढ्दै गएको छ । बिगत केही बर्ष यता बिद्युत महसुल नतिर्नेको संख्या बढ्दै गएको नेपाल बिद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले जनाएको छ ।

आर्थिक बर्ष २०७३/०७४ मा ३१ जना ग्राहकले बिद्युत महसुल नबुझाएको नेपाल बिद्युत प्राधिकरण सल्यानका आय तथा काउन्टर प्रमुख गणेश बुढाथोकीले बताउनु भयो । उहाँले ती बिद्युत महसुल नबुझाउने ग्राहकको नाम कालो सुचिमा राखेको बताउनु भयो । अघिल्लो आर्थिक बर्ष “२०७२÷०७३ मा ३० जना ग्राहकले बिद्युत महसुल बुझाएनन्, उनीहरुको नाम कालो सु्चिमा राखिएको छ,” उहाँले भन्नुभयो ।

उहाँले  कालो सुचिमा पर्ने ग्राहकको संख्या बढेको बताउनु भयो । “लामो समय सम्म पनि महसुल बुझाउन ताकेता गर्दा पनि बिद्युत महसुल नबुझाउने ग्राहकको नाम कालो सुचिमा राख्ने गरेका छौँ ”उहाँले भन्नु भयो –“के कारण हो खै उहाँहरु बिद्युत महसुल बुझाउन आउनु हुदैनँ ।”उहाँले कालो सुचिमा परेकाहरु बाट १ लाख ७३ हजार ३ सय ६५  रुपैँया ९९ पैसा रकम उठ्न बाँकी रहेको बताउनु भयो ।

जिल्लामा बिद्युक्त महसुल नबुझाएर कालो सुचिमा पर्नेमा जिबिस गेष्ट हाउस देखी एफ.एम. रेडियो सम्म रहेका छन् । यसरी बिद्युत महसुल नबुझाउनेमा पुरानो जिबिस गेष्ट हाउस, रेडियो सप्तरंगी एफ.एम., रहेका छन् । यस्तै दुई वटा साना उद्योग मिल, दुई वटा मन्दिर र २५ वटा घरपरिवार सहित ३१ ग्राहक कालो सुचिमा परेका छन् ।

जिल्लामा २ सय ८० भन्दा बढीको बिद्युत लाईन काटिएको छ । समयमा नै महसुल नबुझाउने ग्राहकको लाईन काटिएको हो । ती मध्ये २ सय १५ जना बढीले जरिवाना स्वरुप रुपैयाँ बुझाए पछि फेरी जोडिएको छ । यस बर्ष जिल्लामा बिद्युत महसुल बाफतको २२ लाख, ९९ हजार, ४ सय ४० रुपैँया ८५ पैसा बराबरको रकम उठ्न बाँकी रहेको छ ।

यस्तै यस बर्ष बिद्युत महसुल बाफतको जम्मा २ करोड, ७५ लाख, २५ हजार, २ सय ५५ रुपैँया रकम उठेको छ । यस बर्ष जिल्लामा २९ लाख, ४ हजार ४ सय ७४ दशमलब ५२ यूनिट बिद्युक्त खपत भएको थियो ।

प्रकाशित मिति : २०७४ साउन २१ गते शनिवार
प्रतिक्रिया