घोराही,१२ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले साझा बिकासमा एमालेको भुमिका बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको प्रदेश नम्बर पाँचको बिस्तारीत बैठकको उद्घाटन सत्रमा बोल्दै नेता पोख्रेलले स्थानिय तहको निर्बाचनबाट बहुमत पाएको भन्दै बिकासको भुमिकामा जिम्मेवारी बढेको बताउनुभएको हो ।
प्रदेश नम्बर पाँचका संयोजक सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता पोख्रेलले राष्ट्रिय राजनितिमा एमालेले खेलेको भुमिकाकै कारण जनताहरुले मत दिएको बताउनुभयो । एमालेका कामलाई प्रचारमा ल्याउन सञ्चार माध्यमले ठूलो भुमिका खेलेको उहाँको भनाई छ ।
विकासको नेतृत्व, नाकाबन्दीको सामना र जेष्ठ नागरिकलाई गरेको न्यायले नै जनमत एमाले प्रति आकर्षित भएको पोख्रेलले बताउनुभयो । जनमतलाई कदर गर्दैै समानुपातीक बिकासको जिम्मा एमालेको काधमा आएको उहाँले बताउनुभयो । प्रदेश नम्बर पाँचको पत्रकारीताको धार सम्मानजनक रहेको समेत उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघलाई साझा चरित्रको बनाउनुपर्ने बताउनुभयो । महासंघको आगामी नेतृत्वलाई सर्बसहमत बनाउन आफुहरुले भुमिका खेल्ने समेत उहाँको भनाई छ ।।