मिना बुढाथोकी,सल्यान १२, साउन । सल्यानमा हराएका ७३ जना महिला तथा बालबालिका अझै भेटिएका छैनन । गत आर्थिक बर्ष ०७३/०७४ मा जिल्ला प्रहरी कार्यालय सल्यानको महिला सेलमा ९३ जना महिला तथा बालबालिका हराएको निबेदन परेको थियो । जसमा अझै पनि ७३ जना महिला तथा बालबालिका नभेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी कार्यालयमा महिला ६६ जना, बालक १४ जना र बालिका १३ जना हराएको निबेदन परेको थियो । तर अहिले सम्म ५८ जना महिला, १० बालक र ५ जना बालिका नभेटिएको जिल्ला प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जनाउनु भयो । गत आर्थिक बर्षमा निबेदन परेका मध्ये ८ महिला, ८ बालिका र ४ जना बालक फेला परेको उहाँले बताउनु भयो ।
किन हराउछन् महिला तथा बालबालिका
सल्यानका प्रहरी प्रमुख खत्रीले आर्थिक, पारिवारिक, सामाजिक लगाएतका बिभिन्न कारणले गर्दा घर छोडेर जाने गरेको बताउनु भयो ।महिलाहरु प्राय आर्थिक अबस्था कमजोर भए पछि धनपैसा कमाउन, श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यहरु सँगको बेमेलका कारण, घरेलु हिंसामा परेर पनि महिलाहरुले घर छोडेर जाने गरेको बताउनु भयो ।
यस्तै बालबालिकाहरु पढ्नेलेख्ने अबशर बाट बञ्चित हुनु, घरपरिवारको माया नपाउनु, साथीसंगीको लहलहैमा र बालबिबाह गरेर पनि घर छोडेर जाने गरेको बताउनु भयो ।
कहाँ जान्छन् त ती महिला
प्रहरी प्रमुख खत्रीले हराएका मध्ये अधिकांश महिला अझै पनि सम्पर्कमा नआएको बताउनु भयो । “हामीले खोजी कार्य जारी राखेका छौँ, निबेदन दिएका परिवार सँग पनि समय समयमा सम्पर्क गर्दा अझै फेला नपरेको ती परिवारले बताउछन्, तर पनि हराएका ती महिला अझै भेटिएका छैनन” – उहाँले भन्नु भयो ।
उहाँले जिल्ला बाट हराएका महिलाहरुलाई देशका बिभिन्न ठाँउहरु बाट बेचबिखन, देहब्यापार, यौनधन्दा लगाएतका बिभिन्न क्रियाकलापमा देश बाहिर पठाउन लागेको भनेर कहि कतै बाट उद्धार गरेको खबर तथा यस्तो प्रकारका कुनै पनि जानकारी प्राप्त नभएको बताउनु भयो ।