तुलसीपुर,४ साउन । तुलसीपुर र घोराही उपमहानगरपालिकाका १५ वटा वडा कार्यालयहरु भाडाका भवनबाट सञ्चालन भएका छन् । वडा कार्यालयका लागि आवश्यक भवन नभएपछि भाडाका भवनबाट काम सञ्चालन गर्नुपरेको हो । तुलसीपुर उपमहानगरपालीकाका सुचना अधिकारी झरेन्द्र खरेलका अनुसार यहाँका १९ वटा वडा मध्ये १३ वटा वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालनमा आएका छन ।
बांकी ६ वटा वडा कार्यालयहरु भने भाडामा लिएर सञ्चालन गरिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिकाका सुचना अधिकारी प्रेम केसीका अनुसार १९ वटा वडामध्ये १० वटा आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । बाँकी ९ वटा वडाका कार्यालयहरु भाडामा लिएर सञ्चालन गरिएको हो ।
कार्यालयका अनुसार तुलसीपुरका १, ३, ४, ५, ६, ७, ८, ९, ११, १३, १४, १७ र १८ नम्बर वडाहरु आफ्नै भवनबाट सञ्चालनमा आएका छन । यस्तै २, १०, १२, १५, १६ र १९ नम्बर वडा कार्यालयहरु भाडाका भवनबाट सञ्चालनमा ल्याइएको छ । त्यस्तै घोराहीका २, ४, ५, ६, ९, १२, १४, १५, १८ र १९ नम्बर वडाहरु आफ्नै भवनबाट सञ्चालनमा आएका छन् ।
यस्तै १, ३, ७, ८, १०, ११, १३, १६ र १७ नम्बर वडा कार्यालयहरु भाडाका भवनबाट सञ्चालनमा ल्याइएको छ ।
तुलसीपुर उपमहानगरपालीकाका प्रबक्ता श्याम डाँगीका अनुसार भाडामा रहेका सम्बन्धित वडा कार्यालयकाका अध्यक्षहरुलाई जग्गा खरिदको प्रक्रिया थाल्न निर्देशन दिईएको छ ।
यहि साउन २५ गते हुने नगर सभामा बजेट विनियोजन गर्ने तयारी गरिएको पनि प्रवक्ता डाँगीले जानकारी दिनुभयो । उता घोराही उपमहानगरपालिकाका प्रबक्ता भरत अर्यालले पनि आफ्नै भवन नभएका वडाहरुको भवन निर्माण गर्ने विषयमा छलफल भएको र नितीगत निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो ।