सल्यानको लुहापिंङ खेल मैदान वरीपरी तारबार

बुद्धि पुन, सल्यान २ श्राबण । सल्यानको खलंगामा रहेको लुहापिंङ खेल मैदान वरीपरी तारबार लगाईएको छ । खेल मैदानमा तारबार नहुँदा बिभिन्न खेल खेल्दा असहज हुने गरेको थियो । साथै गाईबस्तु चरीचरणको लागी खेल मैदानमा जाने र मलमुत्रले खेल मैदान फोहोर हुने गरेको थियो ।
यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग, जिल्ला समन्वय समिती सल्यान सँगको सहकार्य र जिल्ला खेलकुद बिकास समिती सल्यानको आयोजनामा खेल मैदान वरीपरी तारबार लगाईएको हो । मैदानको वरीपरी तारबार सँगै मैदान पबेशको लागी तीन वटा गेटको पनि निर्माण शुरु गरिएको जिल्ला खेलकुद बिकास समिती सल्यानका कार्यालय प्रमुख शिबराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले १० लाख, ९१ हजार, ५ सय २५ रुपैँयाको लागतमा मैदान वरीपरी तारबार लगाउने काम सम्पन्न भएको बताउनु भयो । “मैदान वरीपरी तारबार लगाउने काम सकियो” उहाँले भन्नु भयो– “खेल मैदानमा प्रबेशको लागी गेट निर्माण कार्यको शुरु भएको छ ।”

खेल मैदानमा तारबार लगाए पछि भलिबल, फुटबल, क्रिकेट लगाएतका खेल खेल्न सजिलो हुने जिल्ला खेलकुद बिकास समिती सल्यानका कोषाध्यक्ष युबराज वलीले जानकारी दिनु भयो । “पहिले खेल मैदान वरीपरी तारबार थिएन, खेल खेल्दा बलहरु मैदान बाहिर जाने गथ्र्यो, खेलाडीलाई समस्या भैरहेको थियो” उहाँले भन्नु भयो– “अब भने त्यस्ता समस्या नआउने भए ।”

उहाँले तारबार पश्चात चरणको लागी मैदानमा गाईबस्तु जाने पनि बन्द हुने र मैदान सफा रहने बताउनु भयो । लुहापिंङ खेल मैदान जिल्ला कै ठूलो खेल मैदानको रुपमा चिनिन्छ । यहाँ जिल्ला स्तरका बिभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन हुने गर्दछन् ।

प्रकाशित मिति : २०७४ साउन २ गते सोमवार
प्रतिक्रिया