घोराही, २५ असार ।
नेकपा एमाले दाङले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा गरेको छ । जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समिक्षा गर्दै निर्वाचनका एमालेका उमेदवारलाई विजयी बनाउनका लागि भूमिका खेल्ने सवैलाई धन्यवाद दिएको छ ।
बैठकले जिल्ला समन्वय समिति र विभिन्न गाउँ र नगरपालिकामा आवश्यक पर्ने संख्या मनोनित गर्नका लागि माओवादीसंग सहमति कायम गरेर जाने निर्णय गरेको थियो । बैठकले विभिन्न गाउँ तथा नगरका न्यायीक समिति र कार्यकारी सदस्यमा मिलेर जाने निर्णय गरेको जिल्ला सचिव हिराचन्द्र केसीले जानकारी दिनुभयो । बैठकले जिल्ला समन्वय समितिको संयोजकमा पठाउने प्रतिनिधिको नाम केन्द्रीय कमिटीमा पठाउने गरी छलफल गरेको बताइको छ ।
बैठकमा नगर सभा र गाउँ सभामामा पठाउने प्रतिनिधिका नाममा पनि छलफल गरिएको थियो । निर्वाचनमा आशातित सफलता नआएको निश्कर्ष निकाल्दै पाएको सफलताका लागि आम मतदातालाई धन्यवाद दिएको नेकपा एमालेले निर्वाचनका क्रममा भएको कमजोरी पत्ता लगाउनका लागि वार्ड देखि नगरकमिटीलाई निर्देशन दिएको छ । यसरी आएका समिक्षा प्रतिवेदनका आधारमा कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय नेकपा एमालेले गरेको छ ।
यसैगरी जिल्ला उप सचिव सुरामणि बेल्वासको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदल सात सदस्यीय रहेको छ । नेकपा एमालेले निर्वाचनको क्रममा पार्टीको नीति विपरित कार्य गरेको भन्दै बंगलाचुलीका बासुदेव महरा, घोराहीका होमबहादुर सेजुवाल र तुलसीपुरका ललितजंग शाहलाई कारवाही गर्ने निर्णय गरेको छ ।
पार्टीका उमेदवारलाई हराउनका लागि भूमिका खेलेकाहरुकालाई कारवाही गर्ने सन्वन्धमा कार्यदलले गरेको सिफारिसका आधारमा गरिने पनि जिल्ला सचिव केसीले बताउनुभयो । यसैगरी नेकपा एमालेले तुलसीपुरको उद्योग बाणिज्य संघको निर्वाचन परिचालनका लागि जिल्ला सचिव हिराचन्द्र केसीको संयोजकत्वामा कृष्णप्रसाद भुषाल, विनोद आचार्य, देवराज विश्वकर्मा, मनोहर बुढाथोकी, प्रेमवक्स मिया र कृष्ण गोपाल गुप्ता रहेको समिति गठन गरिएको छ ।
बैठकमा निर्वाचनको सम्वन्धमा सम्वन्धित तहका इञ्चार्ज र संयोजकहरुले रिपोर्टिङ गर्नुभएको थियो । नेकपा एमाले दाङ जिल्ला कमिटीले आगामी साउनको ६ गतेका दिन नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा तुलसीपुरमा कार्यक्रम गर्ने निर्णय गरेको छ भने गुम्ह्रा थारुको स्मृतिमा साउनको ७ गतेका दिन घोराहीमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरी, एमालेका नेता गिरीराज शर्मा लगायतले बोल्नुभएको थियो । बैठकका संचालन जिल्ला सचिव हिराचन्द्र केसीले गर्नुभएको थियो ।