काठमाण्डौ,२३ असार ।
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये ३ सय २२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको नतिजामा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
एमालेले १४४ स्थानीय तहमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले एमालेलाई पछ्याउँदै १ सय १७ स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३९ स्थानीय तहमा जित हासिल गरेको छ ।
अन्य दलहरुमा संघीय समाजवादी फोरम ७ र नेपाल लोकतान्त्रिक फोरमले ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ४ तथा राष्ट्रिय जनमोर्चाले दुई स्थानमा जित निकाल्दा दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अब विराटनगर महानगरपालिकासहित १२ स्थानीय तहको मतगणना भइरहेको छ । झापामा ४ नगरपालिकाको मतगणना भइरहेको छ । दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।