रोल्पा,असार १५/
पश्चिमी रोल्पाको सुकीदह गाउँपालिका १ मा कांग्रेसका वडा अध्यक्षसहित सबै उम्मेदवार विजयी भएका छन् । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अजमान डाँगीसहितका पदाधिकारी विजयी भएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जानकारी दिएको छ ।
वडा अध्यक्षले ३२२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका चुडामणि वलीले २२७ मत ल्याएका थिए । तेस्रोमा रहेका माओवादीका कुशल सिएनले १८९ मत ल्याएका थिए । उक्त वडामा २४ मत बदर भएको छ । अन्य वडामा मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले बताए ।
सबै स्थानीय तहको अन्तिम परिणाम आइपुग्न ३र४ दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रोल्पाका सुनछहरी गाउँपालिकाबाहेक सबै तहको गणना बिहान १० बजेबाटै सुरु गरिएको छ । पूर्वी रोल्पाको विकटमा पर्ने सुनछहरी गाउँपालिकाको गामबाट मतगणना केन्द्र रहेको पोबाङमा मतपेटिका ल्याउन ढिलाई भएकाले त्यहाँ मतगणना गर्न ढिलाई भएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले बताएका छन् ।
रोल्पा नगरपालिका र गाउँपालिकाहरु त्रिवेणी, माडी, दुईखोली, थबाङ, सुवर्णावती, लुङ्ग्री, सकीदह, रुन्टीगढीमा मतगणना जारी छ । सुकीदहमा भने गत रातिबाटै गणना सुरु गरिएको हो । सुनछहरीमा बिहान मात्र मतपेटिका ल्याइएकाले सर्वदलीय बैठकपछि गणना सुरु हुने भएको छ । अहिलेसम्मको प्रारम्भिक जानकारीअनुसार कही माओवादी केन्द्र, कही एमाले र कही कांग्रेसले अग्रता लिएको छ ।